शतप्रतिशत छात्रवृत्तिमा अध्ययनको अवसर

काठमाडौं । नेपाली विद्यार्थीलाई भारतका विभिन्न कलेजमा शतप्रतिशत छात्रवृत्तिमा अध्ययन गर्ने अवसर जुटेको छ । शैक्षिक सत्र २०२१–२२ का लागि भर्ना प्रक्रिया अगाडि बढाउने समयमा वाइड रेन्ज कन्सल्टेन्सी प्रालिले यस्तो अवसर जुटाएको हो । संस्थाले सोमवार राजधानीमा आयोजना गरेको ‘स्टडी इन इन्डिया स्कलरसिप इन्फर्मेसन सेसन एण्ड प्रेस मिट’मा उक्त अवसरबारे जानकारी दिएको हो ।

भारतीय दूतावास काठमाडौंले प्रत्येक वर्ष मेधावी र मेहनती विद्यार्थीलाई मेरिटको आधारमा भारतका उत्कृष्ट विश्वविद्यालय र कलेजमा पढ्न ‘कम्पेक्स स्कलरसिप’ अन्तर्गत शतप्रतिशत छात्रवृत्ति प्रदान गर्दै आएको छ । संस्थाका अनुसार अन्डरग्य्राजुएट प्रोग्राम इन्जिनियरिङ, फार्मेसी, कृषि, फूड टेक्नोलोजी र बीएससी नर्सिङ विषयमा यो छात्रवृत्तिका लागि विद्यार्थीले अगस्ट ४ तारिखसम्म आवेदन दिन सक्नेछन् ।

यस वर्ष कोरोना महामारीका कारण कम्पेक्स स्कलरसिप टेस्ट कम्प्युटर बेसमा अगस्ट चौथो साता परीक्षा लिइने संस्थाले बताएको छ । कक्षा १२ पास गरेका र परीक्षा दिएका दुवै वर्गका विद्यार्थीले यो छात्रवृत्तिका लागि परीक्षा दिन सक्ने भारतीय दूतावासद्वारा प्रकाशित छात्रवृत्ति फारम भर्ने तरिकामा उल्लेख छ । कक्षा १२ मा ६० प्रतिशत प्राप्तांक ल्याएका विद्यार्थीले यो छात्रवृत्ति दाबी गर्न सक्नेछन् । छात्रवृत्ति सम्बन्धी सम्पूर्ण जानकारी भारतीय दूतावासको वेबसाइटमा राखिएको छ । (आर्थिक अभियान)

Translate »