थप ३४२१ जनामा कोरोना संक्रमण पुष्टि, २५ जनाको मृत्यु

साउन ११, काठमाडौं । सोमवार पछिल्लो २४ घण्टामा थप ३ हजार ४२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार २४० जनामा गरिएको पीसीआर परीक्षणमा २ हजार ३९१ जना र ५ हजार ३२ जनामा गरिएको एन्टिजेन परीक्षणमा १ हजार ३० जना गरी जम्मा ३ हजार ४२१ जनामा संक्रमण पुष्टि भएको हो । यो डेढ महीनायताकै बढी संक्रमित थपिएका हुन् ।

त्यस्तै सोही अवधिमा देशभर २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार सोमवार २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट २५ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ७३८ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ९०८ पुगेको छ । यसैगरी, सोमवार १ हजार ६८६ जना निको भएसँगै हालसम्म ६ लाख ४५ हजार ३०१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । (आर्थिक अभियान)

Translate »