सुउवा संघद्वारा घरभाडामा छुट गर्न आग्रह

संघको ३६ औं र ३७ औं वार्षिक साधारणसभा आगामी असोज २ गते

स्काई न्यूज / साउन ११, सुर्खेत ।
सुर्खेत उद्योग वाणिज्य संघले आफ्ना सदस्यलाई घरभाडामा छुट गर्न आग्रह गरेको छ । संघका अध्यक्ष धनबहादुर रावतको अध्यक्षतामा सोमबार वीरेन्द्रनगरमा बसेको कार्य समितिको २९ औं बैठकले कोरोनाको महामारी र बन्दाबन्दीले आर्थिक क्षेत्रमा पारेको प्रभावलाई मध्यनजर गर्दै आफ्नो इच्छा र गच्छे अनुसारको छुट दिन आग्रह गरेको हो ।

बैठकले आफ्नो घर जग्गा वहालमा बस्ने उद्योगी, व्यापारी, व्यवसायीलाई ईच्छा र गच्छे अनुसारको छुट दिन आग्रह गरेको संघका महासचिव लक्ष्मण कँडेलले जानकारी दिए । ‘कोरोना महामारीले उत्पन्न संकटबाट नीजि क्षेत्रका उद्योग, व्यापार, व्यवसाय चौपट नै पारेको छ,’ उनले भने, ‘हामी संघका सदस्यलाई मात्र होइन, आम जनसमुदायलाई आ–आफ्नो घर जग्गा वहालमा बस्ने उद्योगी, व्यापारी, व्यवसायीलाई ईच्छा र गच्छे अनुसार छुट गर्न आग्रह गर्दछौं ।’ उनले बैठकमा घरभाडा छुट गर्न सार्वजनिक रुपमै अपिल गर्ने निर्णय गरिएको जनाए ।

‘लामो समयको महामारी र बन्दाबन्दीका कारण उद्योगी व्यापारी आक्रान्त छन,’ उनले भने, ‘अहिले केही खुकुलो भएपनि अपेक्षित रुपले व्यापार व्यवसाय सञ्चालन नभएको हुँदा यस्तो आग्रह गरिएको हो ।’ उनका अनुसार बैठकले संघको सदस्यता नविकरणका लागि असोज मसान्तसम्म छुट र संघको भवनमा कोठा भाडामा लिएर पसल सञ्चालन गर्ने लाई एक महिना घरभाडा छुट दिने निर्णय गरेको छ ।

संघले कोरोनाको प्रकोपका कारण स्थगित हुँदै आएको संघको ३६ औं र ३७ औं वार्षिक साधारणसभा आगामी असोज २ गते पहिलो शनिबार गर्ने निर्णय पनि गरिएको उनले जानकारी दिए । बैठकमा कोरोनाको संक्रमणकै कारण गत जेठमा ज्यान गुमाएका संघका पूर्व कार्य समिति सदस्य गोविन्द पाण्डेको निधनप्रति १ मिनेट मौनधारणा सहित गहिरो शोक प्रस्ताव पारित गरिएको थियो ।

 

Translate »