सुर्खेतमा होटल सञ्चालकसहित जुवाखालबाटै आठ जना पक्राउ

 

स्काई न्यूज / साउन ११, सुर्खेत ।
सुर्खेत प्रहरीले वीरेन्द्रनगर स्थित जुम्ला रोडबाट जुवाखालबाटै आठ जनालाई पक्राउ गरेको छ । सकुन्तला न्यौपानेले सञ्चालन गरिरहेको सुर्खेती स्टाप होटलमा सोमबार साँझ प्रहरीले छापा मारेर होटल सञ्चालकसहित आठ जनालाई पक्राउ गरेको हो ।

प्रहरीले जुवाखालबाट २ लाख १४ हजार ९ सय सत्तरी रुपैयाँ नगद, प्रभु बैंकको दस्तखत गरिएको चार लाख रुपैयाँको चेक, एनएमवी बैंकको उन्पचास हजारको चेकसँगै अन्य बिभिन्न बैंकका ११ थान चेक, तास गड्डीलगायत बरामद गरिएको बताएको छ ।


जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी (डीएसपी) रामप्रसाद घर्तीमगरका अनुसार पक्राउ पर्नेमा दैलेखको डुङ्गेश्वर गाउँपालिका–५, निवासी होटल सञ्चालक २६ वर्षीया कुन्तला न्यौपाने, दैलेखकै चामुण्डा बिन्द्रासैनी नगरपालिका–२, का ३० वर्षीय किरण बिष्ट र २२ वर्षीय बखत शाही, डुङ्गेश्वर गाउँपालिका–४, का ३० वर्षीय लोकबहादुर बुढा, गुराँस गाँउपालिका–१, का ३० वर्षीय पदम सलामी मगर, गुराँस गापा–६, का २८ वर्षीय यामबहादुर रोकाय, सुर्खेतको चिङगाड गाँउपालिका–१, का ४० वर्षीय बलबहादुर बाह्रघरे एवं अछामको तुर्माखाँद गाँउपालिका–३, का ३५ वर्षीय जीवन शाही रहेका छन् ।

उनले प्रहरी निरीक्षक कनक शाहीको कमाण्डमा खटिएको प्रहरी टोलीले पैसाको हारजित हुने गरि जुवा तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेर आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाईएको जानकारी दिए ।

Translate »