२०८३ असोज १३ , मंगलबार
Sky News Nepal
September 29, 2026

मध्यपहाडी राजमार्गका आयोजना प्रमुखसहित पाँचविरुद्ध मुद्दा



अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६८ लाख ९३ हजार ७७८ रूपैयाँ बराबरको भ्रष्टाचार गरेको अभियोगमा पुष्पलाल (मध्यपहाडी) राजमार्गका तत्कालीन योजना प्रमुख विजय चापागाईंसहित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

सो राजमार्गको खोटाङ जिल्लास्थित चेनेज ४२ देखि ८८ प्लस ५०० खोटाङखण्ड निर्माण कार्य ठेक्का सम्झौताअनुसार नगरेको भन्ने उजुरीका आधारमा छानबिन गर्दा गलत भएको पाइएको आयोगले जनाएको छ। ठेक्काका निर्माणस्थलमा भएको कामको वास्तविक अवस्था उल्लेख नगरी भेरिएसन हुनुपर्नेभन्दा फरक व्योहोरोको विवरण पेश गरिएको उल्लेख गर्दै आयोगले इष्टिमेटविपरीत काम गराएको अनुसन्धानबाट खुलेको जानकारी दिएको छ।

गलत विवरण तयार पारी बिल तयार पार्ने र भुक्तानी दिएर राज्यको स्रोतको दुरुपयोग गरेको आरोपसहित आयोगले आज मुद्दा दायर गरेको हो। आयोगले आयोजनाका तत्कालीन इञ्जिनियर दीपककुमार खड्का, तत्कालीन सवइञ्जिनियर गजेन्द्रप्रसाद राउत, तत्कालीन लेखा अधिकृत दुर्णप्रसाद फुयाँल र निर्माण व्यवसायी महादेव खिम्ती निर्माण सेवाका प्रबन्ध निर्देशक रवि सिंहविरुद्ध समान बिगोसहित मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए। (नागरिक)

प्रकाशित मिति : २०७८ साउन १३ गते बुधबार
Translate »