टोकियो ओलम्पिक २०२० : अलेक्जेन्डरले राष्ट्रिय कीर्तिमान सुधार गरे

‘पहिलोपल्ट ओलम्पिकमा खेल्दा नै आफ्नै कीर्तिमान सुधार गर्न पाउँदा निक्कै खुशी छु । राम्रो समय निकाले । भविष्यमा पनि अझै राम्रो गर्न चाहन्छु ।’

टोकियो — नेपाली पौडी खेलाडी अलेक्जेन्डर गाडेगार्ड शाहले टोकियो ओलम्पिक २०२० को पुरुष १ सय मिटर फ्रिस्टाइल ५३.४१ सेकेन्डमा पूरा गर्दै मंगलबार यो स्पर्धामा आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गरेका छन् ।

ओलम्पिक छात्रवृत्तिमा तयारी गर्दै जापानको यात्रा गरेका १८ वर्षीय एलेक्सले टोकियो अक्वटिक्स सेन्टरमा कीर्तिमान सुधार गरेपछि भने, ‘पहिलोपल्ट ओलम्पिकमा खेल्दा नै आफ्नै कीर्तिमान सुधार गर्न पाउादा निक्कै खुशी छु । राम्रो समय निकाले । भविष्यमा पनि अझै राम्रो गर्न चाहन्छु ।’

‘हिट्स १’ मा पहिलो भएका हुने क्रममा सुरुका ५० मिटर २५.८१ सेकेन्डमै पार गरेका थिए । उनले दक्षिण कोरियाको ग्वाङ्जुमा भएको १८ औं फिना वर्ल्ड च्याम्पियनसिप २०१९ मा बनाएको ५६.२८ सेकेन्डको कीर्तिमानलाई यो ओलम्पिकमा सुधार गरेका हुन् ।


हिट्स १ मा उनीसँगै भुटान, माल्दिभ्स, कोसोभो, गुयना, प्यालेस्टाइन र सोलोमन आइल्यान्डका गरी सात खेलाडीले प्रतिस्पर्धा गरेका थिए । यो स्पर्धामा सहभागी ७१ खेलाडीमध्ये उनी ५९ औं स्थानमा रहे ।

उनी यसपाली ओलम्पिकमा प्रतिस्पर्धा गर्ने तेस्रो नेपाली खेलाडी हुनेछन् । यसअघि जुडोकी सानिया भट्ट (महिला ४८ केजीमुनि) र सुटिङकी कल्पना परियार (महिला १० मिटर एयर राइफल) मा प्रतिस्पर्धा गरेका थिए । कल्पनाले राष्ट्रिय कीर्तिमान बनाए पनि यी दुवै खेलाडीको चुनौती पहिलो चरणमै समाप्त भयो ।

३२ औं गृष्मकालीन ओलम्पिकमा नेपालका ५ खेलाडी चार खेलमा सहभागी छन् । पौडीकै गौरिका सिंहले महिला १ सय मिटर फ्रिस्टाइलमा भोलि बुधबार र एथलेटिक्सकी सरस्वती चौधरीले महिला १ सय मिटर दौडमा शुक्रबार प्रतिस्पर्धा गर्नेछन् ।(कान्तिपुर)

Translate »