कक्षा १२ को परीक्षा सम्बन्धित विद्यालयबाटै लिने व्यवस्था मिलाइँदै

प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समिति बैठक

अर्जुन श्रेष्ठ/ काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा विद्यार्थीले पठनपाठन गरेको विद्यालयबाटै दिने व्यवस्था मिलाउने भएको छ ।

प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले कोरोना सङ्क्रमणको जोखिमलाई ख्याल गरेर यस पटकको परीक्षा होम सेन्टरबाटै लिने तय गरिएको जानकारी दिए।

बोर्डले कक्षा १० को नतिजा आन्तरिक मूल्याङ्कनबाटै प्रकाशनको तयारी गरेको भए पनि कक्षा १२ को मूल्याङ्कन भौतिक उपस्थितिमै गर्न सुझाव आएकाले होम सेन्टरबाटै परीक्षा लिन लागिएको जानकारी गराए ।

बैठकमा सांसदहरुले होम सेन्टरबाट लिइने परीक्षा सुरक्षाको मापदण्ड पालना गराउने गरी मर्यादित बनाउन र उच्च शिक्षाका लागि अप्ठ्यारो नपर्ने गरी व्यवस्था मिलाउन बोर्डले बिचार पुर्‍याउनुपर्ने बताएका थिए ।

शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले सिसिएमसीसीको निर्णय अनुसार स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएरै परीक्षा सञ्चालन गर्न लागिएको बताए ।

समितिले स्वास्थ्य मापदण्ड अपनाउँदै सकेसम्म कम सङ्ख्या रहने गरी परीक्षा सञ्चालन गर्न, परीक्षा केन्द्रमा स्वास्थ्यकर्मीको व्यवस्था, सङ्क्रमितलाई पनि परीक्षामा सहभागी गराउने व्यवस्था मिलाउन सुझाव दिएको छ ।

कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म सञ्चालन हुँदैछ ।(रेडियो नेपाल)

Translate »