वडाध्यक्षसहित जुवाको खालबाट १५ पक्राउ



साउन १४, हुम्ला ।
हुम्लाको अदानचुली गाउँपालिकाको मुख्य बजार क्षेत्रबाट दुई वडाध्यक्षसहित १५ जना जुवाखालबाटै पक्राउ गरेका छन् । प्रहरीले नियमित गस्तीका क्रममा अदानचुली३ एक होटलबाट जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई रङ्गेहात पक्राउ गरेको हो । होटलको माथिल्लो तलामा रहेको कोठामा तास खेलिरहेको अवस्थामा उनीहरुलाई बुधबार पक्राउ गरिएको श्रीनगर प्रहरीचौकीका प्रहरी सहायक निरीक्षक कृष्णबहादुर बुढाले जानकारी दिए । उनका अनुसार गाउँपालिकाका जिम्मेवार व्यक्तिनै जुवा खेलिरहेको अवस्थामा फेला परेका हुन् । दुई वडाध्यक्ष, एक शिक्षक, दुई ठेकेदार, एक मानव अधिकारकर्मी र अन्य सर्वसाधारण गरी १५ जनाको टोलीलाई जुवाकै खालबाट पक्राउ गरिएको हो । पक्राउ परेका दुई वडाध्यक्षसहित उनीहरुलाई केही समय नियन्त्रणमा लिएर जरिवाना तिरेपछि अबदेखि तास नखेल्ने र नखेलाउने कागजसहित परिवारको जिम्मा लगाइएको छ । तासप्रति कठोर नीति लिएको स्थानीय प्रशासनले जिल्ला सदरमुकाम सिमकोटमा जुवाकै खालबाट १९ जनालाई नगदसहित पक्राउ गरेको एक सातामै जिल्लाको अदानचुलीबाट यत्रो सङ्ख्यामा तास खेल्नेलाई पक्राउ गरिएको हो । रासस

