बाढीले पातारासीमा दर्जनौँ काठे पुल र घट्ट बगायो, एक जनाको मृत्यु

जुम्ला । जुम्लाको पातारासी गाउँपालिकामा भारी वर्षाका कारण आएको बाढीले मानवीय तथा ठुलो भौतिक क्षति गरेको छ ।

मङ्गलवार राती भएको भारी वर्षाका कारण आएको बाढीले पातारासी क्षेत्रका दर्जनौँ काठे पुल तथा पानी घट्ट बगाएको छ भने मकै, आलु, सिमी, कोदो चिनो लगायतको अन्नबाली रोपिएका खेतबारी बगरमा परिणत भएका छन् ।

पिठो पिस्न घट्ट गएकी पातारासी– ३ छुम गाउँकी ३५ वर्षीय शर्मिला बुढालाई घट्टसहित बाढीले बगाएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक बुढाको बुधवार प्रहरीले मुचुल्का गरेर आफन्तले दाहसंस्कार समेत गरिसकेका छन् ।

पातारासीका ७ वटै वडामा बाढीले क्षति पुर्‍याएको छ । तर अन्य क्षेत्रभन्दा वडा नं. ३ मा बढी क्षति भएको स्थानीय श्रीराम बुढाले बताए । उनले भने, “आवतजावत गर्न पुल पनि छैन । बाली सबै बालुवामा परिणत भएको छ । घर नै बगाउने चिन्ताले राती जाग्राम बस्छौ ।”

पातारासीा ७ वटा पानी घट्ट समेत बाढीले बगाएको पातारासी गाउँपालिकाका विपद् व्यवस्थापन शाखा प्रमुख जन महताराले बताए।

उनका अनुसार लुम तथा छुम गाउँ जोड्ने करिब एक दर्जन बढी काठे पुल बगाउँदा आवतजावतमा समेत समस्या भएको छ । करिब २५ वटा पशुचौपाय समेत बाढीले बगाएको विपद् व्यवस्थापन शाखा प्रमुख महताराले जानकारी दिए ।

त्यस्तै पातारासी गाउँपालिका ४ लुममा पनि ५र६ काठे पुल बगाउनुका साथै गोडमेल गरेर पाक्न थालेका अन्नबालीहरू पूर्ण क्षति पुगेको छ ।

वर्षासँगै बाढी आउने क्रम जारी रहेकोले क्षतिको विवरण यकिन विवरण भने आउन बाँकी रहेको पातारासी गाउँपालिकाका अध्यक्ष लछिमन बोहोराले बताए ।

उनका अनुसार बाढीमा परि मृत्यु हुनेलाई गाउँपालिकाले तत्काल २५ हजार राहत स्वरूप उपलब्ध गराउने छ ।

उनले काठे पुल बगाउँदा आवतजावत बन्द भएकोले तत्काल आवतजावत सहज गर्न मर्मत तथा पुनः निर्माणको कामलाई तत्काल अघि बढाइने बताए ।

अध्यक्ष बोहोराले भने, “पालिकाका विभिन्न क्षेत्रमा बाढी पहिरो आएको छ । घरभित्रै बाढी पसेर केही परिवार विस्थापित पनि भएका छन्, थुप्रै बाटाघाटा पनि भत्केका छन् । तत्काल कार्यपालिका बैठक बसेर राहत उद्धार तथा मर्मत सम्भारलाई अघि बढाउँछौ ।”(रेडियो नेपाल)

 

Translate »