आर्थिक सुरक्षा नभएसम्म सञ्चारकर्मी स्वतन्त्र नहुने : पूर्व मन्त्री बाँस्कोटा

प्रदीप भण्डारी/ काभ्रेपलान्चोक । नेकपा (एमाले)का केन्द्रीय सदस्य एवम् पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारको आर्थिक र भौतिक सुरक्षा हुनुपर्ने बताए ।

प्रेस चौतारी नेपाल काभ्रे शाखाले आयोजना गरेको सदस्यता वितरण तथा अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्री बाँस्कोटाले सञ्चारकर्मीहरूको आर्थिक सुरक्षा नभएसम्म सञ्चारकर्मी स्वतन्त्र नहुने बताए । उनले नेपाली सञ्चारकर्मीलाई आर्थिक र भौतिक सुरक्षाको आवश्यकता रहेको औँल्याउदै पत्रकारहरूको श्रमको सुरक्षा र सम्मान हुनुपर्ने बताए।

उनले कोरोना सङ्क्रमणकालमा ‘मूलधारका सञ्चारमाध्यम’ ले पनि बिना पैसा काम लगाएको र कामको पारिश्रमिक नदिई रोजगारीबाट समेत हटाइएको आरोप लगाए । उनले भने, “श्रम मारा मिडियाका कारण सञ्चारकर्मीको आर्थिक सुरक्षा भएको छैन, मन नपर्दा उसको ज्ञान र क्षमताको श्रममाथि चुप्पी चलाउने अधिकार दिनुहुन्न ।”

पूर्व मन्त्री बाँस्कोटाले नेपालको पत्रकारितामा सौदावाजी मौलाइरहेको भन्दै यसलाई रोक्न नसके पत्रकारिताको मर्म नै हराउँदै जाने बताए। उनले नेता र मन्त्रीको चाकरी गरेर मात्र व्यावसायिक पत्रकारिता नफस्टाउने बताए ।

अन्तर्क्रिया कार्यक्रममा प्रेस चौतारी नेपालले नयाँ सदस्यता वितरण गरेको छ । जिल्लामा कार्यरत ६५ जना नयाँ तथा पुराना सदस्यहरूलाई सदस्यता वितरण गरेको हो ।(रेडियो नेपाल)

 

Translate »