२०८३ असोज १३ , मंगलबार
Sky News Nepal
September 29, 2026

जुम्ला विद्युत्को राष्ट्रिय प्रसारण लाइनमा जोडियो



साउन १७, जुम्ला ।  जुम्ला जिल्ला विद्युत्को राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । लामो प्रयास र सङ्घर्षपछि जुम्ला राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । पूर्वनिर्धारित समय अनुसार साउनकै दोस्रो साताबाट जुम्लामा राष्ट्रिय प्रसारण लाइन पुगेको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र जुम्लाका प्रमुख गौरव पाण्डेले बताए ।

उनले भने, ‘दैलेखदेखि दुल्लु १ सय ५० किमी, दुल्लुदेखि कालिकोट ६० किमी र कालिकोट हुँदै जुम्ला ८० किमीको दुरीमा परिक्षण गर्दै ११ केभी राष्ट्रिय प्रसारण लाइन जुम्ला पुगेको हो । आइतबार बिहान १० बजेदेखि राष्ट्रिय प्रसारण लाइनको बत्ती जुम्ला सदरमुकाम खलांगामा बलेको छ ।’

गएको असार २६ गतेदेखि कालिकोट हुँदै जुम्लाका विभिन्न भागमा नेपाल विद्युत् प्राधिकरण जुम्लाको टोलीले परीक्षण कार्य गरिरहेको थियो । जुम्ला क्षेत्रमा असार २८गते नै परिक्षण कार्य सकाएर असार ३१ देखि साउन १६ गते सम्म कालिकोट क्षेत्रका विभिन्न भागमा परिक्षण गरी अन्ततः सफल भएको प्रमुख पाण्डेको भनाई छ ।

प्रमुख गौरव पाण्डेले राष्ट्रिय प्रसारण लाइनको ११ केभी जुम्ला पुराउने आफ्नो जिम्मेवारी पुरा गरेको बताए । उनका अनुसार जुम्लाका आठ स्थानीय तह मध्य चन्दननाथ नगरपालिकामा एक डेढ हप्तामै घरघरमा बत्ती पुग्ने छ ।

तिला र तातोपानी गाउँपालिमा दशै सम्म सबै मेजरपार्ट जडान भई सञ्चालनमा आउने छन् । साथै सिञ्जा क्षेत्र तथा गुठिचौर पातारासीमा चालु आवभित्रै बत्ती बल्ले गरी काम द्रुत रुपमा काम अघि बढाइने समेत प्रमुख पाण्डेले उल्लेख गरे ।

राष्ट्रिय प्रसारण लाइन जुम्ला पुग्यो । यसको विस्तारका लागि सरकारले बजेट पनि छुटाई सकेको छ । जुम्लाका आठै तहका (एलटी) लाइन विस्तारका लागि चाडै टेण्डर आह्वान गर्ने र लाइन विस्तारको काम पनि अघि बढाउने जानकारी दिए ।

करिब १ लाख २० हजार जनसङ्ख्या रहेको जुम्लामा अझै ९५ प्रतिशत नागरिक अँध्यारोमै बस्न बाध्य छन् । अब छिटै सबै नागरिक विद्युतको पहुँचमा पुग्ने आशामा छौ । प्रतिनिधि सभा सांसद गजेन्द्र बहादुर महतले भने, ‘सडकदेखि सदनमा कर्णालीमा राष्ट्रिय लाइन पुराउन दबाब दिइयो ।’

जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले आइतबार जुम्लामा राष्ट्रिय प्रसारण लाइनको ११ केभी जुम्ला पुग्नु ऐतिहासिक दिन भएको बताए । उनले भने, ‘व्यक्ति विशेष श्रेय लिनेभन्दा पनि सबैको पहलले राष्ट्रिय प्रसारण लाइन पुगेको छ । महाबु हुँदै आउने ३३ केभी लाइन जुम्ला पुग्न ढिला हुने भएकाले एलाईन्स परिवर्तन गरी ११ केभी लाइन छिटो जुम्लामा ल्याउन सफल भयौ ।’

राष्ट्रिय प्रसारण लाइन जुम्ला ल्याउन विद्युत् प्राधिकरण जुम्लाका प्रमुखको सक्रियता, र प्रतिनिधि सभा सांसद गजेन्द्रबहादुर महत, पुर्वमन्त्री नरेश भण्डारी, जिसस उपप्रमुख कार्मा बुढा लगायतका व्यक्तिको पहलले जुम्लामा राष्ट्रिय प्रसारण लाइन पुगेको हो ।

प्रकाशित मिति : २०७८ साउन १७ गते आइतबार
Translate »