‘१२ को परीक्षा स्थगित गर्ने निर्णय भएको छैन’

साउन १९, भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का परीक्षा स्थगित गर्ने कुनै निर्णय नभएको जनाएको छ । बोर्डका सदस्यसचिव दुर्गा अर्यालले बोर्ड परीक्षाको तैयारीमा निरन्तर लागिरहेको बताए ।

उनले परीक्षा हुन अझै दुई हप्ता बाँकी रहेकाले सङ्क्रमणका कारण जोखिम बढेर अप्ठ्यारै अवस्था आए अलग कुरा नभए परीक्षा नसर्ने बताए ।

यसबारे अहिले नै निर्णय गर्न नसकिने बताउँदै सदस्य सचिव अर्यालले तत्काल परीक्षा अर्को विधिबाट सञ्चालन गर्ने भन्ने विषयमा पनि छलफल भैनसकेको बताए ।

परीक्षाको कार्यक्रम स्थगित गर्ने कि नगर्ने ? भन्ने विषयमा मन्त्रालयबाट कुनै जानकारी नआएको उनले बताए । अर्यालले विद्यार्थीलाई अन्यौलता नपरी परीक्षाको तयारीमा जुट्न आग्रह गरे ।

बोर्डले परीक्षा स्थगित भएको भन्नेबारे भ्रममा नपर्न पनि आग्रह गरेको छ ।

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कक्षा १२ को परीक्षा कोभिड संक्रमण बढ्दै गएको अवस्थामा स्थगित हुनसक्ने अभिव्यक्ति दिनुभएपछि परीक्षा पूर्व प्रकाशित तालिका बमोजिम हुने नहुने अन्योल भएको थियो ।

राज्यमन्त्री श्रेष्ठले हिजो सोमबार मन्त्रालयमा आयोजित भर्चुअल पत्रकार सम्मेलनमा कोभिड संक्रमण बढ्दै गएको अवस्थामा कक्षा १२ को मात्र नभई विश्वविद्यालयले सञ्चालन गर्ने सबै परीक्षा स्थगित हुनसक्ने बताएका थिए।

दिनदिनै कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि परीक्षा कसरी सञ्चालन हुन्छ भन्ने विषयमा अन्योल भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तोकेको स्वास्थ्य मापदण्ड पालना गरी होम सेन्टरमै परीक्षा लिने व्यवस्था गरेको छ । मन्त्रालयले कोभिड संक्रमण बढ्दै गएको अवस्थामा कक्षा १२ को के गर्ने ? भन्ने विषयमा छलफल भने सुरु गरेको बताइएको छ । मन्त्रालयले परीक्षा भर्चुअल माध्यमबाट गर्न सकिन्छ कि भन्ने बारेमा पनि छलफल अघि बढाइसकेको बुझिएको छ ।

तर, भौतिक रुपमा परीक्षा सञ्चालन गर्दा कोभिडको जोखिम खतरा हुने र भर्चुअल वा अन्य वैकल्पिक विधिबाट परीक्षा गर्न सञ्चालन गर्न यथास्थितिमा अप्ठ्यारो हुने शिक्षाविद्को तर्क छ ।

आन्तरिक मूल्याङ्कनबाट परीक्षा सञ्चालन गर्न पनि छलफल सुरु गर्ने राज्यमन्त्री श्रेष्ठको भनाई छ ।

तर तोकिएको परीक्षा स्थगित गर्नु परे मन्त्री परिषद्ले निर्णय गर्नुपर्ने हुन्छ । सीसीएमसीको निर्देशन अनुसार नै होम सेन्टर कायम गरी परीक्षा लिने तयारी भइरहेको छ ।

राज्यमन्त्री श्रेष्ठले सरकारले परीक्षा अगावै सबै परीक्षार्थीलाई कोरोना विरुद्धको खोप लगाउने तयारी गरिरहेको जानकारी गराएका थिए ।
पछिल्लो समय दैनिक ३ हजार हाराहारीको कोभिड संक्रमित फेला पर्न थालेपछि परीक्षा लगायत अन्य गतिविधि गर्न दिने वा नदिने भन्ने विषयमा सरकारले निर्णय गर्न सकेको छैन ।

कक्षा १२ परीक्षा यही साउन ३१ गते देखि भदौ ९ सम्म हुदैछ भने ३ लाख ७४ हजार विद्यार्थी सहभागी हुँदै छन् ।

Translate »