
टेकराज भण्डारी/ अछाम । बैँकिङ्ग प्रणाली मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दा अछामको चौरपाटी गाउँपालिकामा ७५ लाख बढी रकम जोगिएको छ ।
आर्थिक बर्ष २०७७/०७८ को पहिलो चौमासिकबाट सामाजिक सुरक्षा भत्ता बैँकिङ्ग प्रणाली मार्फत वितरण सुरु गरे पछि रकम जोगिएको र पारदर्शिता कायम भएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकामा ७ हजार ८ जना लाभग्राही रहेको तथ्यांकअनुसार सामाजिक सुरक्षा भत्ता आउने गरेकोमा १ हजार ४ सय लाभग्राहीले खाता नखोले पछि रकम दुरुपयोग हुन नपाएको र ७५ लाख रकम राज्यकोषमा सुरक्षित रहन सफल भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत धन बहादुर थापाले जानकारी दिए।
गाउँपालिकाले पटक पटक खाता खोल्न सूचना प्रकाशन गरे पनि वडा तथा गाउँपालिकाको कार्यालयमा सम्पर्कमा नआए पछि सामाजिक सुरक्षा भत्ता फिर्ता पठाएको प्रमुख प्रशासकीय अधिकृत थापाले बताए ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको निर्देशन तथा गाउँपालिकाको समन्वयमा आर्थिक बर्ष २०७७/ ०७८ मा बैँकिङ्ग प्रणाली मार्फत भत्ता वितरण हुँदा ठुलो रकम फिर्ता गएको गाउँपालिकाले जनाएको छ ।

बैँकिङ्ग प्रणाली मार्फत वितरण हुनु पहिले सामाजिक सुरक्षा भत्ताको लागि निकासा भएको सबै रकम खर्च हुने गरेको गाउँपालिकाले जनाएको छ । सामाजिक सुरक्षा भत्ताको लागि खाता खोल्न नआउने सुचीमा अधिकांश बालबालिकाको नाम रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत थापाले जानकारी दिए।
समयमै मृत्यु दर्ता नहुने गरेको, दोहोरो दर्ता, लाभग्राही उपस्थिति विना घरको अन्य सदस्यले सामाजिक सुरक्षा भत्ता बुझ्ने गरेको पाइएकोले सामाजिक सुरक्षा भत्ता बैँकिङ्ग प्रणाली मार्फत वितरण गरिएको गाउँपालिकाले जनाएको छ । कतिपयले नागरिकतामा जन्म मिति सच्याएको समेत पाइएको श्रोतले जनाएको छ ।
बैँकिङ्ग प्रणाली मार्फत भत्ता वितरण हुँदा आर्थिक पारदर्शितताका साथै सम्बन्धित लाभग्राहीको हातमा सामाजिक सुरक्षा भत्ता पुग्दा ज्येष्ठ नागरिक लाभग्राहीहरू खुसी रहेको गाउँपालिकाले जनाएको छ । यसबाट राज्य कोषको रकम दुरुपयोग हुनबाट बचेको उनको भनाइ छ ।
गत आर्थिक वर्षमा बैँकिङ्ग प्रणाली मार्फत सामाजिक सुरक्षा भत्ता वितरणमा कोरोना भाईरस (कोभिड–१९)का कारण लाभग्राहीमा केही समस्या भए पनि चालु आर्थिक बर्ष २०७८र०७९ मा सहजता हुने प्रमुख प्रशासकीय अधिकृत थापाले बताए ।
आर्थिक बर्ष २०७७/०७८ मा पहिलो चौमासिक ३ करोड ३५ लाख २७ हजार ५ सय ६८, दोस्रो चौमासिक ३ करोड ३० लाख ४४ हजार ६ सय २३ र तेस्रो चौमासिक ३ करोड ३० लाख ४४ हजार ६ सय २३ गरी वार्षिक रु. ९ करोड ९६ लाख १६ हजार ८ सय १४ रुपैयाँ सामाजिक सुरक्षा बापत भुक्तानी भएको थियो । (रेडियो नेपाल)











