सल्यानमा बिरुवा बिक्री नभएपछि नर्सरी व्यवसायी समस्यामा
दीपक शर्मा / सल्यान । सल्यानमा नर्सरीमा उत्पादन भएका विभिन्न फलफूलका बिरुवा बिक्री नहुँदा नर्सरी सञ्चालक समस्यामा परेका छन् ।
लामो समयसम्मको निषेधाज्ञा र प्रत्येक स्थानीय तहहहरुले आफैँ नर्सरी बनाउन थालेपछि कागती, सुन्तला, अनार, टिमुर लगायतका दर्जनभन्दा बढी फलफूल र घाँसका बिरुवा बिक्री हुन नसकेको हो ।
नर्सरीका बिरुवा खरिद गर्ने दलाल र सङ्घ संस्थाको मिलेमतोका कारण यो वर्ष बिरुवा बिक्री हुन नसकेको बागचौर नगरपालिका २ का टिकाराम वलीले बताए ।
पाँच रोपनीमा उत्पादन गरेको बिरुवा अहिलेसम्म ३० हजार मात्र बिक्री भएको उनको भनाई छ ।
१ लाख ५० हजार बिरुवा उत्पादन गरेको भए पनि अहिलेसम्म ३० हजार मात्र बिरुवा बिक्री भएको उनले गुनासो गरे। उनले भने, “सस्तोमा पाए जस्तो पनि बिरुवा लग्ने तर १०÷१२ रुपैयाँ प्रति बिरुवाभन्दा लिन आनाकानी गर्ने सबैभन्दा बढी दलालले गर्ने समस्या भएको छ ।”
गत वर्ष ४ लाख ५० हजार बिरुवा बिक्री गरेका बागचौर नगरपालिका ९ डाँगी गाउँका टोपेन्द्र डाँगीले यो वर्ष भने मुस्किलले ४० हजार बिक्री गर्न सकेको बताए ।
उनले भने, “विगतका वर्षहरूभन्दा नर्सरी गर्नेहरूको सङ्ख्या पनि बढिरहेको छ । यस्तै प्राय स्थानीय तहहरूले पनि आफैँ नर्सरी राखेकाले पनि बिरुवा बिक्री गर्न समस्या भइरहेको छ । ”
बिरुवा बिक्री गर्न समस्या हुन्छ भन्ने थाहा पाएर यो वर्ष १ लाख मात्र बिरुवा उत्पादन गरेको भए पनि ६० हजार बिरुवा अझै बारीमै रहेको उनले बताए ।
कृषि विकास कार्यालय सल्यानका अनुसार नर्सरीबाट सल्यानका किसानले वार्षिक ६ करोडभन्दा बढी आम्दानी गर्दै आइरहेका छन् ।(रेडियो नेपाल)