२०८३ कात्तिक २६ , बुधबार
Sky News Nepal
November 11, 2026

जाजरकोट–जुम्ला जोड्ने सुरुङमार्ग निर्माण गरिने



जाजरकोट । जाजरकोट– जुम्ला छिटोछरितो पुग्नका लागि सुरुङ मार्गको सम्भाव्यता अध्ययनको काम सुरु गरिएको छ ।

जाजरकोटको कुशे गाउँपालिका–८ साङटादेखि जुम्लाको तातोपानी गाउँपालिका–८ इमिल्चाघारीको बीचमा सुरुङ खोलेर सडक निर्माण गर्न सम्भाव्यता अध्ययन गर्न लागिएको पूर्व मन्त्री शक्तिबहादुर बस्नेतले बताए ।

जाजरकोट सदरमुकाम– पाँचकाटिया हुँदै कुशे–८ साङटाबाट जुम्लाको तातोपानी इमिल्चाघारी सडकका लागि सम्भाव्यता अध्ययन गर्न सडक डिभिजन चौरजहारीले प्रक्रिया सुरु गरेको छ । अर्कोतिर सदरमुकाम पाँचकाटिया हुँदै हानीसल्ला काइल्दापाखा सिल्पाचौर हुँदै बारेकोट जोड्ने सडक निर्माण जारी छ ।

त्यस्तै जाजरकोट– डोल्पा सडक खण्डको नलगाड नगरपालिकाबाट बारेकोट हुँदै जुम्ला जोड्ने अर्को सडक बारेकोट जोडिसकेको छ ।

पाँचकाटिया कायदापाखा सिल्पाचौर लिम्सा सडक खण्डको प्रदेश सरकारको सहयोगमा निर्माण जारी रहेको प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहले बताए।

यो आवमा पनि सो सडक निर्माणका लागि बजेट विनियोजन भइसकेकाले काम निरन्तर जारी रहने प्रदेशसभा सदस्य सिंहले जानकारी दिए ।

जुम्ला जानका लागि सबै भन्दा छोटो बाटोमध्येको सुरुङ मार्ग नै हुने भएकाले यो निर्माण कार्यलाई बढी जोड गरिएको छ । जुम्ला सडक जोड्नका लागि अब दुई खण्डको विकास भइरहेको सिंहले बताए।

साङटाबाट इमिल्चाघारीसम्म अहिलेको लम्बाई झन्डै १० किलोमिटर छ । सुरुङ निर्माणका लागि झन्डै पाँच किलोमिटर भन्दा कम प्वाल बनाउनुपर्ने कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए ।

हिँडेर झन्डै सात घण्टामा अग्लो डाँडा पार गर्न सकिन्छ । सुरुङ मार्गबाट ३० मिनेटमै जुम्ला जान सकिने सिंहले बताए । लुम्बिनी– दाङ हुँदै जाजरकोट जुम्लाबाट रारा जोड्नका लागि यो सडक सबै भन्दा छोटो हुने भएकाले काम सुरु गर्न लागिएको बताइएको छ । रासस

प्रकाशित मिति : २०७८ साउन २४ गते आइतबार
Translate »