नेपालगञ्ज मेडिकल कलेज विक्री सम्झौता तोडियो

साउन २५,नेपालगञ्ज । डा. सुनील शर्माले नेपालगञ्ज मेडिकल कलेज तथा टिचिङ हस्पिटल समेत ३५० करोड रुपैयाँमा किन्ने सम्झौता तोडिएको छ । विक्री गर्ने पक्षले एकतर्फी रूपमा सम्झौता तोडेपछि उक्त कलेज किन्ने प्रक्रिया तत्काललाई स्थगित भएको छ ।

नेपालगञ्ज मेडिकल कलेज र टिचिङ अस्पतालका कर्मचारीले चार महीनादेखि तलब नपाएको गुनासो गर्दै आएका छन् । कर्मचारीको तलब, बैंकको ऋण दायित्वसमेत गरी ३५० करोडमा मेडिकल कलेज तथा टिचिङ अस्पताल किन्न डा. शर्मा तयार थिए । विराटनगरको नोबेल टिचिङ हस्पिटल र सिनामंगलको काठमाडौं मेडिकल कलेजका सञ्चालक डा. शर्माले नेपालगञ्ज मेडिकल कलेजको ४६ प्रतिशत शेयर करसमेत गरी प्रतिकित्ता ५०० रुपैयाँका दरले खरीद गर्नेगरी असार अन्तिममा सम्झौता गरी २ करोड रुपैयाँ बैना समेत दिएका थिए । नेपालगञ्ज मेडिकल कलेजका प्रबन्ध निर्देशक डा. सुरेशकुमार कनोडियाले अन्य शेयर धनीहरूसँगको सम्मतिमा विक्री गर्ने सहमति गरेपछि खरीदविक्री सम्झौता भएको थियो ।

स्रोतका अनुसार कलेज सञ्चालकहरूमध्ये केहीले कनौडियालाई दबाबमा पारेर सम्झौता भंग गर्न लगाएको हो । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष समेत रहेका दिनेश श्रेष्ठ नेपालगञ्ज मेडिकल कलेजका अध्यक्ष समेत हुन् । श्रेष्ठ सहितको समूह कलेज विक्री नगर्ने पक्षमा पुगेपछि सम्झौता भंग हुन पुगेको स्रोतले दाबी छ ।

सम्झौता तोडिएपछि बैना रकम फिर्ता गर्न कनोडिया शर्माकहाँ पुगेका थिए । मेडिकल कलेजमा कनोडिया र उनको परिवारको ३७ दशमलव ५ प्रतिशत लगानी छ । शर्माले उनको र अन्य शेयरधनीको समेत शेयर खरीद खरीद प्रक्रिया अघि बढाएका थिए । शर्मासँग अहिले पनि नेपालगञ्ज मेडिकल कलेजको ३ दशमलव ५ प्रतिशत शेयर छ । खरीद सम्झौता रद्द भए पनि आफूहरूलाई खासै समस्या नरहेको प्रतिक्रिया शर्माले दिएका छन् । (आर्थिक अभियान)

Translate »