११ वर्षीया बालिका आफ्नै बुबा र काकाबाट बारम्बार बलात्कृत

साउन २५,गोरखा ।
पालुङ्टार नगरपालिका वडा नं.८ की एक बालिकालाई आफ्नै बुबा र काकाले बारम्बार बलात्कार गरी बिरामी बनाएको आरोप लागेको छ । ११ वर्षकी बालिकालाई ३७ वर्षका बुबा र काकाले बलात्कार गरेको आरोप लागेको हो । पटक-पटक बलात्कारको शिकार बनेपछि पाठेघरको बिरामी बनेकी उनले गत असार २७ गते थापाथली अस्पतालमा उपचारको क्रममा फुपूसमक्ष सो रहस्य खोलेकी प्रहरीले जनाएको छ ।

श्रीमती परपुरुषसँग बिहे गरी गएपछि एक्लिएका बुबाले आफूलाई घरभित्रै बारम्बार जबर्जस्ती करणी गर्ने गरेको उपचारको क्रममा उनले फुपूलाई बताएकी थिइन् । साथै काकाले समेत गत कात्तिक महिनामा आफूलाई बलात्कार गरेको उनले फुपूलाई बताएको थिइन् ।

छोरीलाई बलात्कार गरेको आरोपमा पीडितकी फुपूले आफ्ना दाजु र भाइ दुवैजनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिए । सोही जाहेरीको आधारमा प्रहरीले मेखराज र लीलाकान्तलाई गत शुक्रबार पक्राउ गरेको छ ।

उनीहरुविरुद्ध जबर्जस्ती करणीको शीर्षकमा मुद्धा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाएको डिएसपी दाहालले जानकारी दिए ।

 

Translate »