एमालेको कुन समितिमा को ?

काठमाडौँ — विधान अधिवेशनको तयारीमा जुटेको एमालेको केन्द्रीय कमिटी बैठकले विभिन्न प्रस्तावित समितिहरुलाई पूर्णता दिएको छ । यसअघि गत साता ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको पार्टी स्थायी समिति बैठकले पार्टीका विभिन्न ९ वटा विभागहरु गठन गरेको थियो ।
पार्टी अध्यक्ष केपी शर्मा ओली संयोजक रहेको राजनीतिक प्रतिवेदन मस्यौदा समितिमा वामदेव गौतम, रामबहादुर थापा, प्रदीप ज्ञवाली, छविलाल विश्वकर्मा, सत्यनारायण मण्डल, विष्णु रिमाल र विन्दा पाण्डे सदस्य रहेका छन् ।
महासचिव ईश्वर पोखरेल संयोजक रहेको संगठनात्मक प्रतिवेदन मस्यौदा समितिको सदस्यहरुमा विष्णु पौडेल, टोपबहादुर रायमाझी, शंकर पोखरेल, किरण गुरुङ र पद्मा अर्याल छन् ।
विधान संशोधन मस्यौदा समिति सदस्यहरुमा सुवास नेम्वाङ, पृथ्वीसुब्बा गुरुङ, लेखराज भट्ट, रघुवीर महासेठ, राधा ज्ञवाली, भानुभक्त ढकाल र प्रभु साह छन् । यो समितिको संयोजककमा विष्णु पौडेल छन् ।

रामबहादुर थापा संयोजक रहेको व्यवस्थापन समिति सदस्यहरुमा मणि थापा, शेरबहादुर तामाङ, सुजिता शाक्य, विनोद श्रेष्ठ, खिमलाल भट्टराई, महेश बस्नेत र पासाङ शेर्पा छन् ।पार्टीको आगामी भदौ २७ र २८ गते आयोजना हुने विधान अधिवेशनामा प्रस्तुत हुने प्रस्तावबारे छलफल गर्न सोमबार एमालेको केन्द्रीय समिति बैठक बसेको हो । एमालेले पार्टीको नीति निर्माणका लागि विधान अधिवेशन बोलाउन लागिएको यसअघि नै स्पष्ट पारेको छ ।
विधान अधिवेशनपछि हुने राष्ट्रिय अधिवेशनले पार्टीको नेतृत्व चयन गर्नेछ । एमालेले पार्टीको राष्ट्रिय महाधिवेशनको तयारीका लागि आगामी असोज ३ गते वडा अधिवेशन र असोज ९ गते पालिकास्तरीय अधिवेशन गर्ने निर्णय पनि यसअघि नै गरिसकेको छ । (कान्तिपुर)