चौरपाटीको रिचार्ज पोखरी निर्माण अभियान

टेकराज भण्डारी / अछाम । तीन ३ बर्ष अघिदेखि पालिकाभर रिचार्ज पोखरी (वर्षाको पानी सङ्कलन गर्ने पोखरी) निर्माणको अभियान थालेको अछामको चौरपाटी गाउँपालिकाले साउन २९ गते पुनः रिचार्ज पोखरी निर्माण अभियान सुरु गर्ने भएको छ ।
“३६४ दिन आफ्नो कामको लागि उठौँ, एक दिन वातावरण संरक्षणका लागि जुटौँड्ढ भन्ने नाराका साथ रिचार्ज पोखरी बर्ष मनाउन लागेको गाउँपालिका अध्यक्ष हर्क बहादुर साउदले जानकारी दिए ।
वर्षभरि आफ्नो व्यक्तिगत काम गरे पनि एक दिन वातावरण संरक्षणका लागि काम गरे प्राकृतिक सम्पदा जल, जङ्गल, जमिन, जङ्गली जनावर बस्तुभाउ र चराचरीको संरक्षण हुने हुँदा गाउँपालिकाले रिचार्ज पोखरी अभियान सञ्चालन गर्न लागेको हो ।
रिचार्ज पोखरी निर्माण गरे तत्काल यसको फाइदा नदेखिए पनि बिस्तारै केही वर्ष पछि यस्तो प्रभाव देखिने उनको दाबी रहेको छ ।
मुख्य गरी पानीको मुहान माथि पोखरी निर्माण गरे खानेपानीको मुहानको संरक्षण हुने, सुख्खा डाँडामा पोखरी निर्माणले वोटविरुवा हरियाली हुने, जङ्गली जनावरलाई खानेपानीको अभाव नहुने, घर नजिक आइरहेका जङ्गली जनावर, पशुपंक्षीको आहार जङ्गलमै भेटिने भएकोले पनि खेतीपातीको संरक्षणमा समेत टेवा पुग्ने अध्यक्ष साउदको भनाई रहेको छ ।
चौरपाटी गाउँपालिकाले तीन बर्ष अघि देखि सुरुवात गरेको अभियानले साना ठुला रिचार्ज पोखरी गरी गाउँपालिकाका सात वटै वडामा ७ हजार ५० बढी रिचार्ज पोखरी निर्माण गरिसकेका छन् ।

गत साल कोरोना भाईरस (कोभिड–१९) का कारण अभियान सुरुवात गर्न नसके पनि यो बर्ष साउन २९ गतेलाई रिचार्ज पोखरी निर्माण अभियानको रुपमा अगाडि बढाइने अध्यक्ष साउदले बताए।
अध्यक्ष साउदले गाउँपालिकाका सात वटै वडामा अभियान एकै दिन सुरुवात हुने हुँदा सम्पूर्ण जनसमुदाय, जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, समाजसेवी बुद्धिजीवीलाई हात हातमा रिचार्ज पोखरी निर्माण सामाग्री लिएर सहभागी भई सहयोग गरिदिन अनुरोध गरेका छन् । ।
यस अघि निर्माण गरिएका रिचार्ज पोखरीको पछिल्लो समयमा प्रभाव समेत देखिन थालेको छ । खानेपानीको मुहानमा पानी बढेको, जमिनमा चिस्यान कायम भएको, बनजंगलमा चराचुरुङ्गी देखिन थालेको लगायतका प्रभाव देखिन थालेको गाउँपालिकाले जनाएको छ ।
स्थानीयको व्यापक सहभागितामा जनश्रमदान जुटाउँदै पालिकाले यो काम गर्दै आइरहेको छ । (रेडियो नेपाल)