सल्यानबाट साढे ३६ करोड रुपैयाँको अदुवा निकासी

दीपक शर्मा / साउन २६,सल्यान ।
गत आर्थिक वर्षमा सल्यानबाट साढे ३६ करोड रुपैयाँको अदुवा निकासी भएको छ । कृषि विकास कार्यालय सल्यानका अनुसार गत आर्थिक वर्षम ३६ करोड ५३ लाख रुपैयाँ जिल्ला भित्रिएको हो ।

जिल्लाबाट १५ हजार २ सय ७२ मेट्रिक टन अदुवा निकासी भएको कार्यालयका सूचना अधिकारी रेशम कुमार बस्नेतले जानकारी दिए ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण जोन कार्यक्रम र कृषि विकास कार्यालयले विभिन्न ब्लक कार्यक्रम मार्फत अदुवा खेतीतर्फ किसानहरुलाई आर्कषित गर्दै आइरहेको उनको भनाई छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमले अदुवा उत्पादन वृद्धि गर्न विभिन्न कार्यक्रम सञ्चालन गरेको भएपनि जिल्लामा भने अदुवा उत्पादन वर्सेनी घट्दै गएको छ । अदुवाको बजार मूल्य एक नासको नहुँदा व्यवसायिक अदुवाखेती गर्दै आइरहेका किसान विस्तारै विस्तापित हुन थालेका छन् । बजारमा लगानी अनुसारको मूल्य पाउन छाडेपछि अदुवा थोरै मात्र उत्पादन गर्ने गरेको बागचौर नगरपालिका ३ का किसान नन्दलाल शर्माले बताए ।

आर्थिक वर्ष २०७५/७६ मा २०९० हेक्टर क्षेत्रफलमा अदुवा लगाएकोमा २८ हजार ३ सय ९२ मेटिक्टन मात्र उत्पादन भएको छ । यस्तै आर्थिक वर्ष २०७६/७७ मा १ हजार ७ सय २० हेक्टर क्षेत्रफलमा २५ हजार ८ सय मेटिक्टन मात्र अदुवा उत्पादन भएको छ ।

 

Translate »