हुम्लामा सीता एयरको जहाज दुर्घटनाबाट जोगियो

स्काई न्यूज / साउन २७, सुर्खेत ।
हुम्लाको सिमकोट विमानस्थलमा सीता एयरको नाइनएनएएचडी डोनियर जहाज दुर्घटना हुनबाट जोगिएको छ । बुधबार सुर्खेतबाट काग्रो समान लिएर गएको जहाज सिमकोट विमानस्थलको रनवे अवतरण गर्ने क्रममा टायर पन्चर्ड भएको हो । नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाका प्रबन्धक मोहन गिरीले रनवेमा ल्याण्ड गरी पार्किङस्थलमा ल्याउने क्रममा जहाजको पछाडिको टायर पन्चर्ड भएपछि जहाज घिस्रेको बताए । विमानमा चालक दलका सदस्य मात्र सवार थिए । उनीहरु सबै सकुशल रहेका छन् । विमानको टायर पन्चर्ड भए पनि अन्य केही क्षति नभएको विमानास्थलका प्रबन्ध्क गिरीले जानकारी दिए । टायर पन्चर्डपछि पार्किङस्थलसम्म ल्याइएको जहाजका लागि नेपालगञ्ज वा सुर्खेतबाट नयाँ टायर ल्याउने तयारी भइरहेको सीता एयरले बताएको छ ।

Translate »