मध्यपश्चिम विश्वविद्यालय : प्राध्यापकद्वारा उपकुलपतिको राजीनामा माग

स्काई न्यूज /साउन २८, सुर्खेत ।
मध्यपश्चिम विश्वविद्यालयका पाँच वटा प्राध्यापक संघ–संगठनहरुले आफ्नै उपकुलपतिको राजीनामा माग गरेका छन् । कोरोना महामारीका कारणले विश्वविद्यालयमा अवरुद्ध अध्ययन तथा अध्यापनको चिन्ताभन्दा सरकार परिवर्तन भएसँगै ती पाँच वटा प्राध्यापक संघ–संगठनहरुले उपकुलपति नन्दबहादुर सिंहलाई राजीनामा माग गरेका हुन् । विहीबार पत्रकार सम्मेलन नै गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई संसदीय भाषामा मात्रै कुलपति मान्ने उपकुलपतिको विवादास्पद अभिव्यक्ति आएको भन्दै उनीहरुले राजीनामा नदिए चरणवद्ध आन्दोलनका कार्यक्रम अघि बढाउने बताएका छन् । प्रजातन्त्रवादी प्रध्यापक संघका अध्यक्ष रुपेश खत्रीले विश्वविद्यालयको उपकुलपतिबाटै प्रधानमन्त्रीज्यूलाई संसदीय भाषामा मात्रै कुलपति मान्ने अभिव्यक्ति दिनु क्षमा गर्न लायक नरहेको बताए । ‘उपकुलपतिले विश्वविद्यालयलाई आफ्नो पार्टीको विचार लागू गर्ने थलोका रुपमा विकास गर्नुभयो,’ अध्यक्ष खत्रीले भने, ‘यो अभिव्यक्तिले विश्वविद्यालयको प्राज्ञिक मर्यादा तथा गरिमाको धज्जी उडाएको ठहर गर्दै राजीनामा दिन सुझाव दिएका हौं ।’ उनले अमुक पार्टीको पक्षपोषण गर्ने उपकुलपतिले नैतिकताका आधारमा राजीनामा दिनु पर्ने औल्याए । नेपाल राष्ट्रिय प्राध्यापक संगठनका अध्यक्ष सिंहराज गुरुङले उपकुलपति सिंहले कार्य सम्पादनमा कुशलता नभएका, असक्षम र अविवेकी भएको आरोप लगाए । उनले नैतिकताको आधारमा उपकुलपतिले राजीनामा नदिए पहिलो चरणका आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरिने जनाए । उनका अनुसार उपकुलपतिको राजीनामाका लागि प्रदेश सरकारका मन्त्रीहरुको ध्यानाकर्षण गराउने, प्रदेशस्तरका विभिन्न राजनीतिक दलका प्रमुखहरुसँग छलफल गर्ने, नागरिक समाजका अगुवा तथा चन्दादाताहरुसँग छलफल चलाउनेलगायतका कार्यक्रमहरु सार्वजनिक गरिएको छ । यद्यपि ! उपकुलपति सिंहले सार्वजनिक भएको अडियो आफ्नो नभएको बताउँदै आएका छन् । प्राध्यापक संघ–संगठनहरुले अडियोका विषयमा छानविन गर्न यसअघि नै माग गरेका थिए । उपकुलपतिको राजीनामा माग गर्दै विश्वविद्यालयमा सत्तापक्षका प्रध्यापक संघ–संगठनका साथै विद्यार्थीहरु पनि आन्दोलित भएका छन् ।

Translate »