अमेरिकाले रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई तेस्रो डोज खोप दिने

काठमाडौँ — अमेरिकाको फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडीए)ले रोग प्रतिरोधी क्षमता कम भएकाहरूलाई कोरोनाविरुद्ध फाइजर-बयोएनटेक र मोडर्नाले उत्पादन गरेका खोपको तेस्रो डोज लगाउन अनुमति दिएको छ । एफडीएको यो घोषणासँगै अब चिकित्सकहरूले दुई डोज खोप लगाएर पनि कोरोनाविरुद्ध प्रतिरोधी क्षमता विकास नभएका बिरामीलाई तेस्रो डोज लगाउनका लागि सिफारिस गर्न सक्नेछन् ।

हालसम्म पनि दुवै खोपलाई आपत्कालीन प्रयोग अनुमति मात्रै दिएको अमेरिकाको एफडीएले पहिलाको व्यवस्थामा केही अपडेट गरेपछि अंग प्रत्यारोपण गरेकाहरूले समेत तेस्रो मात्रा लगाउन पाउने भएका छन् । सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीएस) को सल्लाहकार समितिमा तेस्रो डोज लगाउन अनुमति दिने या नदिने भनेर छलफल तथा मतदान हुनु एक दिनपूर्व नै एफडीएले अनुमति दिएको हो । सीडीसीले पनि तेस्रो डोज लगाउनका लागि अनुमति दिने आँकलन भइरहेको छ ।एफडीएले रोग प्रतिरोधी क्षमता अत्यन्तै न्यून भएका कारण जोखिममा रहेका व्यक्तिहरूलाई ध्यानमा राखेर यो निर्णय गरेको हो,’ एफडीएका कमिसनर डा. ज्यानेट उडकक्ले विज्ञप्तिमा भनेका छन्, ‘उपलब्ध तथ्यांकहरूलाई आधार मानेर नै जोखिममा रहेको सानो समूहलाई राहत मिल्छ भनेर फाइजर-बयोएनटेक र मोडर्नाको खोपको तेस्रो डोज लगाउन अनुमति दिएका हौं ।’

एफडीएले तेस्रो डोज लगाउन अनुमति दिएसँगै अब अमेरिकाको प्रादेशिक खोप नियन्त्रण इकाईलाई अर्को चरणको देशव्यापी खोप अभियान सञ्चालन गर्न दबाब बढ्नेछ । यही अवधिमा अमेरिकी वैज्ञानिक तथा अनुसन्धानकर्ताहरूले सबै अमेरिकीलाई तेस्रो डोजको खोप लगाउन पर्छ या पर्दैन भनेर अनुसन्धान गरिरहेका छन् । अमेरिकाभन्दा अघि नै फ्रान्स, जर्मनी तथा हंगेरीले समेत रोग प्रतिरोधी क्षमता कम भएकाहरूलाई तेस्रो डोज खोप दिन सुरु गरिसकेका छन् ।(कान्तिपुर)

Translate »