आगामी साताभर मनसुन सक्रिय हुने

साउन ३०, काठमाडौं । आगामी साता देशभर मनसुन सक्रिय हुने भएको छ ।

मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले आगामी एक साता देशभर मनसुन सक्रिय हुने देखिएको जल तथा मौसम विज्ञान विभागले बताएको छ ।

विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार आगामी साता देशका अधिकांश स्थानमा वर्षा हुनेछ । वर्षा निरन्तर एकै ठाउँमा नभई फरक–फरक दिन फरक स्थानमा हुने र केही समय घाम लाग्ने र केही समय वर्षा हुने क्रम चलिरहने पनि उनले बताए ।

देशको पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनका साथै ठूला तथा साना नदीनाला र खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले विभागले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । हाल देशको प्रदेश नं १, २, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

विभागले आइतवार देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा साथै प्रदेश नं १, २, वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेकोे औँल्याएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार शनिवार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २१ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २९ दशमलव ४ डिग्री सेल्सियस रहेको छ । रासस

Translate »