अफगानिस्तानको एक करोड ८४ लाख जनसङ्ख्यालाई मानवीय सहयोग आवश्यकता : संयुक्त राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघ । अफगानिस्तानका राहत कर्मीहरूले झन्डै चार करोड जनसङ्ख्यामध्ये एक करोड ८४ लाख जनसङ्ख्यालाई मानवीय सहयोगको आवश्यकता पर्न सक्ने संयुक्त राष्ट्र सङ्घले बताएको छ ।

देशभरि लडाइँ फैलिँदै जाँदा एक करोड ८४ लाख मानिसलाई मानवीय आवश्यकता पर्न सक्ने मूल्याङ्कन गरिएको राष्ट्र सङ्घका मानवीय सहयोग मामिला अधिकारीले बिहीबार बताएका हुन् ।

संयुक्त राष्ट्र सङ्घको मानवीय मामिलासम्बन्धी समन्वय कार्यालय (ओसिएचए) ले भनेको छ, “द्वन्द्व र अन्य खतराहरूबाट सुरक्षाको खोजीमा धेरै मानिसहरू काबुल र अन्य ठुला शहरहरूमा आइपुगेका छन् ।”

ओसिएचएले भनेको छ, “विस्थापित, द्वन्द्व, बाढी, लिङ्गसम्बन्धी मुद्दा र सुरक्षा निगरानीमा ध्यान केन्द्रित गर्दै मानवीय आवश्यकता र तत्काल आवश्यक प्रतिक्रियाबारे कार्यक्रम निर्धारण गर्न राष्ट्रसंघ र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर–सरकारी सङ्गठनहरूबिच आन्तरिक मूल्याङ्कन भइरहेको पनि छ ।”

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेर्रेसका मुख्य प्रवक्ता स्टेफन डुजारिकले सञ्चारकर्मीसँगको नियमित भेटका क्रममा अफगानिस्तानको पछिल्लो घटनाक्रमबारे भन्नुभयो, “संयुक्त राष्ट्र सङ्घ र गैरसरकारी संस्था दुवैको मानवीय सहयोग समूह अफगानिस्तानमा रहन र उद्धार गर्न समर्पित रहेको छ तर सुरक्षा वातावरण अत्यन्त जटिल र चुनौतीपूर्ण छ ।”

डुजारिकले भने, “संयुक्त राष्ट्र सङ्घमा अफगानिस्तानका झन्डै तीन हजार ४०० राष्ट्रिय कर्मचारी र करिब ३०० अन्तर्राष्ट्रिय कर्मचारी रहेका भए पनि अहिले उनीहरूमध्ये अधिकांश कोभिड–१९ को महामारीका कारण अफगानिस्तान बाहिर रहनुपरेको छ । हामी द्वन्द्वरत सबै पक्षहरूसँग सम्पर्कमा छौँ ।” सिन्ह्वा

Translate »