६ महिनादेखि तलबविहीन सडक मर्मतकर्ता

सल्यान । सल्यानको शारदा नगरपालिकाअन्तर्गत कार्यरत सडक मर्मतकर्ताहरूले लामो समयदेखिको तलक नपाएको बताएका छन् ।

उनीहरूले गत वर्षको माघदेखि हालसम्म झन्डै ६ महिनाको तलब नपाएको गुनासो गरेका हुन् ।

आर्थिक अवस्था कमजोर भएर सडक मर्मत कार्यकर्ताको रूपमा काम गर्दै आए पनि समयमैै तलब नपाउँदा घर खर्च चलाउन समस्या भएको उनीहरूले बताएका छन् ।

नगरपालिकामा हाल ९९ जना सडक मर्मत कार्यकर्ता छन् । ०७५ सालको जेठदेखि सडक मर्मत काम गर्दै आएका शारदा नगरपालिका–७ कजेरीका पूर्ण चलाउलेले यसअघि समयमै तलब पाउँदै आए पनि यस पटक भने ६ महिना बितिसक्दा पनि तलब नपाएको गुणासो गरे । उनले समयमै तलब नपाउँदा घरखर्च चलाउन समस्या भएको बताए ।

‘विभिन्न स्वरोजगार कार्यक्रममार्फत रोजगारी पाएका सबैले काम गर्नासाथ तलब पाएका थिए । हामीले हिलो–धुलो नभनेर मासिक ८ हजार रुपैयाँमा काम गर्दै आए पनि गएको माघदेखि तलब आएको छैन’, उनले भने ।

आर्थिक अवस्था कमजोर भएकै कारण सडक मर्मतको काम थाले पनि लामो समय तलब नआउदा घरखर्च चलाउन समस्या भएको उनको गुनासो छ ।

नगरपालिकाका सबै वडाहरूमा रहेका मुख्य सडकको मर्मतसम्भारका लागि नगरमा सडक मर्मत कार्यकर्ता खटिएका छन् । ती सबैलाई नगरपालिकाले सेवा–सुविधा दिँदै आएको छ ।

सीमित तलबमा काम गर्दै आए पनि समयमै तलब नपाउँदा छोराछोरीको पढाइ खर्च, साँझ–बिहानको छाक टार्न र औषधोपचार गर्न समस्या भएको अर्का  सडक मर्मतकर्ताले बताए ।

शारदा नगरपालिकाले असार मसान्तमै उनीहरूलाई तलब खुवाउने तयारी गरे  पनि सिस्टममा आएको समस्याले उपलब्ध गराउन नसकिएको जनाएको छ ।

‘सडक मर्मतकर्ता सबैको तलब भुक्तानी गर्ने भनेर आवश्यक सबै प्रक्रिया पूरा भएको छ, तर सिस्टमा आएको समस्याले बैंक खाता क्लोज भएका कारण तलब भुक्तानी गर्न समस्या भएको हो,’ नगरपालिका स्रोतले भन्यो ।

अहिले प्रमुख प्रशासकिय अधिकृत बाहिर रहेको र नगरमा फर्किएपछि सबैको बैंक खातामा तलब राखिने नगरपालिकाले बताएको छ ।

Translate »