जामुमा नगर कोभिड अस्पताल सञ्चालन

                                                                                                          तस्वीर सौजन्यः निलो आकाश

स्काई न्यूज / भदौं १, सुर्खेत ।
पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाको जामुमा नगर कोभिड अस्पताल सञ्चालनमा आएको छ । कर्णाली प्रदेश सरकारको आर्थिक सहयोगमा निर्मित १५ शैयाको अस्पताल मंगलबारदेखि विधिवतरुपमा सञ्चालनमा आएको हो । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाले एक औपचारिक कार्यक्रमका वीच मंगलबार पञ्चपुरी–१०, जामुमा कोभिड अस्पतालको उद्घाटन गरेका हुन् । उनले कर्णाली प्रदेश प्रवेशका लागि पश्चिम सुर्खेत तर्फको मुख्यनाका कुईनेबाट आउने नागरिकको चेकजाँचसँगै कोरोना संक्रमितको उपचारमा समेत सहजता पुग्ने विश्वास व्यक्त गरे । ‘पश्चिम सुर्खेतलगगायत अछाम, पश्चिम दैलेख, कालिकोट, र बाजुराका नागरिकको पैदल मार्गको मुख्य नाका कुइनेमा कोरोना विशेष अस्पताल सञ्चालनमा आएसँगै नागरिकको उपचार तथा परामर्शका लागि ठूलो मद्दत पुग्नेछ,’ उनले भने, ‘विशेषज्ञ डाक्टरसहितको स्वास्थ्य सेवा सञ्चालनमा आएकाले आम नागरिकलाई समेत चेकजाँचसँगै उपचारका लागि तत्काल बाहिर जानुपर्ने बाध्यता समेत हटेर जानेछ ।’ उनले कोरोना रोकथाम, उपचार तथा नियन्त्रणका लागि प्रदेश सरकार निरन्तर प्रयासरत रहेको जिकिर गरे । यसअघि पञ्चपुरीकै सालकोट प्राथमिक स्वास्थ्य केन्द्रबाट समेत महिनाको दुई दिन विशेषज्ञ डाक्टरसहितको घुम्ती स्वास्थ्य सेवा शुरु गरिको उनले जानकारी दिए ।

यता पञ्चपुरीका नगरपालिकाका नगरप्रमुख उपेन्द्रबहादुर थापाले जामुमा कोभिड अस्पताल सञ्चालनमा आएसँगै अस्पतालको कम्पाउण्ड घेरबार तथा स्तरोन्नतीका लागि प्रदेश सरकारले विशेष ध्यान दिन आग्रह गरे । उनले नगरकै बजेटले कोभिड अस्पताको व्यवस्थापनमा कठिनाई हुने भएकाले प्रदेश सरकारले नै आवश्यक सरसहयोगलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । नगर कोभिड अस्पतालमै प्रदेश अस्पतालका बालरोग विशेषज्ञ डा. नवराज केसीलगायतको पहलमा टेलिमेडिसिन सेवा समेत सञ्चालनमा ल्याईने भएको छ । स्वास्थ्य जनशक्ति तथा पूर्वाधारको समस्या झेल्दै आएको पश्चिम सुर्खेतमा इन्टरनेट र टेलिफोनको माध्यमबाट (भर्चुअल) वैकल्पिक चिकित्सकीय सेवाबाट नागरिकलाई राहत नै पुग्ने अपेक्षा गरिएको छ ।

Translate »