नयाँ पार्टी दर्ताका लागि निवेदन दिएसँगै माधवकुमार नेपाल समूह विभाजित

भदौ २, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले विभाजन भएको छ । बुधवार एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले नयाँ पार्टी दर्ताका लागि निवेदन दिएसँगै लामो समयसम्म विवादमा अल्झिएको एमाले औपचारिक रूपमा विभाजन भएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेको केही घन्टामै नेपाल समूहका नेताहरूले निर्वाचन आयोगको कार्यालयमा गएर नयाँ पार्टी दर्ताका लागि निवेदन दिएका हुन् ।

तर, नेपाललाई लामो समयदेखि साथ दिँदै आएका दोस्रो तहका नेताहरु नयाँ दल एमाले समाजवादीमा नजाने भएका छन् ।

नेता नेपालले नयाँ दल दर्ता गर्न खोजेपछि उपाध्यक्ष युवराज ज्ञवालीले स्थायी कमिटीको बैठक राखेर को कता लाग्ने भनेर छलफल गर्न प्रस्ताव गरेका थिए । तर नेता नेपाल त्यसमा पनि सहमत भएनन् र नयाँ अध्यादेशअनुसार केन्द्रीय कमिटीको २० प्रतिशत संख्या पुर्‍याएर दल दर्ता गर्न अघि बढेका छन् ।

स्रोतका अनुसार तीन उपाध्यक्ष युवराज ज्ञवाली, भीम रावल र अष्टलष्मी शाक्यले नेता नेपालको साथ छाडेका छन् । उपमहासचिव घनश्याम भुसाल सचिवहरु गोकर्ण विष्ट, योगेश भट्टराई र भीम आचार्य, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र अनुशासन आयोगका प्रमुख अमृत बोहरा नयाँ दलमा नजाने भएका छन् ।

स्रोतका अनुसार पार्टीको नाम नेकपा एमाले (समाजवादी) र  चुनाव चिन्ह खुला किताब राखिएको छ ।

Translate »