२०८३ असोज १३ , मंगलबार
Sky News Nepal
September 29, 2026

३१ लाख जनसङ्ख्या गरिबीबाट माथि उठे

सन् २०१४ देखि सन् २०१९सम्मको तथ्याङ्क


भुवनप्रसाद आचार्य / काठमाडौँ । विगत ५ वर्षको अवधिमा नेपालको बहु आयामिक गरिबी घटेर १७.४ प्रतिशतमा झरेको छ । यस अवधिमा नेपालको ३१ लाख जनसङ्ख्या बहु आयामिक गरिबीबाट माथि उठेको छ ।

राष्ट्रिय योजना आयोगले तयार पारेर सार्वजनिक गरिएको बहु आयामिक गरिबी सम्बन्धी दोस्रो सूचकाङ्कले नेपालको बहु आयामिक गरिबी घटेर १७.४ प्रतिशतमा झरेको जनाएको हो ।

बहु आयामिक गरिबी सम्बन्धी दोस्रो सूचकाङ्क प्रतिवेदन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेलले आज सार्वजनिक गरे।
प्रतिवेदनका अनुसार अझै पनि नेपालको करिब ५० लाख जनसङ्ख्या बहु आयामिक गरिबीको रेखामुनि रहेको देखिएको छ । प्रतिवेदनले सन् २०१४ देखि सन् २०१९सम्मको तथ्याङ्कलाई आधार मानेर प्रतिवेदन तयार पारेको राष्ट्रिय योजना आयोगले जनाएको छ ।

प्रतिवेदनले सबैभन्दा धेरै गरिबी कर्णाली प्रदेशमा ३९.५ प्रतिशत रहेको देखाएको छ । त्यसै गरी सुदूरपश्चिम प्रदेशमा २५.३ प्रतिशत र दुई नम्बर प्रदेशमा २५.३ प्रतिशत गरिबी रहेको छ भने सबै भन्दा कम गरिबी रहेको प्रदेशमा गण्डकी प्रदेश परेको छ । गण्डकी प्रदेशमा ७ प्रतिशत जनता गरिबीको रेखामुनि रहेका छन् भने वाग्मती प्रदेशमा गरिबी ९.६ प्रतिशत रहेको छ ।

जनसङ्ख्याको हिसाबले प्रदेश नम्बर दुईमा १२ लाख ९६ हजार जनता अझै पनि गरिबीको रेखामुनि रहेका छन् भने गण्डकी प्रदेशमा २ लाख २७ हजार जनता गरिबीको रेखामुनि रहेको प्रतिवेदनले देखाएको छ ।

प्रतिवेदन सार्वजनिक कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले २ नम्बर प्रदेश र सात नम्बर प्रदेशले गरिबी घटाउने सन्दर्भमा अझै धेरै काम गर्नु आवश्यक भएको बताए।

कार्यक्रममा योजना आयोगका सदस्य डा. रामकुमार फुयाँलले प्रतिवेदनको विभिन्न पक्षमा चर्चा गर्दै नेपालको गरिबी ३० प्रतिशतबाट घटेर १७.४ प्रतिशतमा झरेको बताए ।

प्रकाशित मिति : २०७८ भदौ २ गते बुधबार
Translate »