तेस्रो लहरको कोरोना जोखिम : लयमा नफर्किदैं गरेको व्यवसाय फेरी बन्द हुने चिन्ता

स्काई न्यूज / भदौं ३, सुर्खेत ।
कोरोनाको दोस्रो लहरको संक्रमणपछि तंग्रिन नपाउँदै तेस्रो लहरको त्रासका कारण व्यावसायीहरु चिन्तित बनेका छन् । दोस्रो चरणको कोरोना संक्रमणपछि पुनर्जीवित हुन लागेका व्यावसायीहरुमा तेस्रो लहरको जोखिमले चिन्तित बनाएको छ । पहिलेको अवस्थामा फर्किन नपाउँदै तेस्रो लहरको कोरोना संक्रमणले व्यावसायीमा चिन्ता थपेको हो । कोरोना संक्रमणका कारण व्यवसाय धरासायी बनेको सुर्खेत उद्योग वाणिज्य संघका धनबहादुर रावतले बताए । उनका अनुसार पहिलो र दोस्रो चरणको कोरोना संक्रमणले जिल्लाको अर्थतन्त्र धरासायी बनेको छ । लामो समयसम्म गरिएको निषेधाज्ञाले व्यवसाय ठप्प भएपछि व्यवसायलयमा फर्किन समस्या भएको छ । दोस्रो लहरको संक्रमणपछि व्यवसाय शुरु हुन थाले पनि तेस्रो लहरको जोखिमले झनै चिन्ता बढाएको रावतले बताए । ‘कोरोना संक्रमण कम हुन थालेपछि व्यवसाय शुचारु हुन थालेका थिए,’ अध्यक्ष रावतले भने, ‘सरकारले नै कोरोना संक्रमणको तेस्रो लहर आउने भनि सकेको छ, निषेधाज्ञामा पनि कडाई जारी नै छ, यसले आमव्यावसायीलाई फेरी चिन्तित बनाएको छ ।’ कोरोनाले थलिएका व्यवसायका लागि तीन तहका सरकारबाट अपेक्षाकृत रुपमा सरकारी नीति तथा कार्यक्रम आउन नसकेको अध्यक्ष रावतको गुनासो छ ।

सरकारले व्यवसायीका लागि सहुलियत व्याज दरमा ऋण, विगतमा लिएको ऋणको व्याज छूट तथा किस्ताको समयावधी थप लगायतका सुविधाहरु दिनुपर्ने उनको माग छ । होटल व्यवसायी तथा नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले कोरोना संक्रमणको मुख्य चेपेटामा होटेल र पर्यटन व्यवसाय परेको बताए । उनले कोरोना संक्रमणका बेला गरिएको लकडाउन तथा निषेधाज्ञाले थलिएको व्यवसाय बल्ल शुरु हुनै लाग्दा फेरि बन्द गर्नुपर्ने चिन्ता थपिएको जनाए । ‘लकडाउनले थलिएको व्यवसाय फेरी शुरु हुन लागेको छ, अहिले व्यवसायीले सञ्चालन खर्च जेनतेन उठाइरहेका छन्,’ उनले भने, ‘फेरी तेस्रो लहर आउने हल्ला छ, यसले फेरी पूर्ण लकडाउन हुनेसक्ने चिन्ता थपेको छ ।’ उनले कोरोनाको दोस्रो लहरपछि सञ्चालन हुन लागेका व्यवसायलाई तेस्रो लहरको जोखिमले समस्या पार्ने बताए । ‘पहिलो लहरपछि व्यवसाय पुर्नजीवित हुने आशा थियो, दोस्रो लहरले व्यवसाय नै धरासायि बनाएको छ,’ उनले भने, ‘तेस्रो लहरको संक्रमण पनि फैलिने हल्ला छ, फेरी लकडाउन भयो भने व्यवसायबाटै पलायन हुनुपर्ने अवस्था आउन सक्छ ।’

यात्रु नपाउँदा १० प्रतिशत सवारी साधन मात्रै चले
कोरोना संक्रमणको दोस्रो लहरपछि खुलेको सार्वजनिक यातायातले यात्रु पाउन सकेको छैन । संक्रमणको जोखिमका कारण यात्रुको आवतजावत कम भएपछि सार्वजनिक यातायातका साधनले छोटो तथा लामो दूरीका यात्रु पाउन समस्या भएको हो । देउती नागरिक यातायात प्रालिका अध्यक्ष कमल खड्काले कोरोना महामारीको प्रत्यक्ष असर यातायात व्यावसायीलाई परेको बताए । उनका अनुसार पहिलो र दोस्रो लहरको संक्रमणका बेला जारी गरिएको लकडाउन तथा निषेधाज्ञाले व्यवसाय पूर्ण रुपमा ठप्प हुँदा व्यवसायि धरासायी भएका छन् । पछिल्लो समय सरकारले सार्वजनिक सवारीका साधन चलाउन दिने निर्णय गरेपछि यातायात व्यवसायीले यात्रु नपाएको उनले बताए । उनका अनुसार अहिले देउती नागरिक यातायात प्रालिका १० प्रतिशत मात्रै सवारी साधन चलेका छन् । तेस्रो लहरको संक्रमण पनि आउने हल्लाले फेरी व्यवासायीलाई चिन्तित बनाएको उनले बताए । यातायात नचल्दा व्यवसाय बन्द गर्नुपर्ने अवस्था आएकाले सरकारले न्यूनतम ब्याजमा ऋण उपलब्ध गराउनु पर्ने उनको भनाइ छ । लामो समयदेखि थन्किएका सवारी साधनमा खिया लाग्न थालेको छ । मर्मत नगरी चलाउन सकिने अवस्था छैन । बैंकको किस्ता तिर्न पनि त्यस्तै समस्या भइरहेको उनले बताए ।

Translate »