कर्णाली प्रतिष्ठानको आन्तरिक आम्दानी ४ करोड

सागर परियार/ जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आन्तरिक आम्दानी ४ करोड बढी भएको छ । गत आर्थिक वर्ष २०७७र७८ मा कर्णाली प्रतिष्ठानले ४ करोड बराबर आन्तरिक आम्दानी गरेको हो ।
विल काउन्टर, फार्मेसी, अडियो भिडियो एक्स-रे सेवा, नाम दर्ता एम्बुलेन्स सेवा लगायतका सेवा उपभोग गरे बापत स्वास्थ्य बिमा नगराएका नागरिकबाट प्रतिष्ठानको आन्तरिक आम्दानी हुने गरेको प्रतिष्ठानको लेखा शाखाले जनाएको छ । कर्णाली प्रतिष्ठानका लेखा अधिकृत मकेन्द्र शाहीले पछिल्लो समय स्वास्थ्य बिमाका बिरामीहरू बढ्न थालेपछि आन्तरिक आम्दानी घट्दै गएको बताए ।

उनले भने,“स्वास्थ्य बिमामा नागरिकको पहुँच वृद्धि हुनु खुसीको कुरा हो । तर आन्तरिक आम्दानी बढ्ने घट्ने कुरा गर्दा स्वास्थ्य बिमितको सङ्ख्या बढेपछि आन्तरिक आम्दानी घटेको हो ।”
आम्दानीका स्रोत अन्य क्षेत्र जस्तो प्रतिष्ठानमा नहुने भएकोले विल काउन्टर, फार्मेसी, अडियो भिडियो एक्स(रे सेवा, नाम दर्ता जस्ता नियमित सेवा मार्फत गएको आ.व.मा ४ करोड राजश्व उठेको कर्णाली प्रतिष्ठानका लेखा अधिकृत मकेन्द्र शाहीको भनाई छ । उहाँका अनुसार गत आवमा प्रतिष्ठानमा कार्यरत पदाधिकारी स्थायी र करार कर्मचारीलाई वार्षिक तलब बापत ३४ करोड बढी खर्च हुने भएको छ ।
प्रतिष्ठानमा हालमा ३ सय ५० जान कर्मचारी रहेका छन् । भने ती मध्ये ८५ जना स्थायी कर्मचारी कार्यरत रहेको लेखा अधिकृत शाहीको भनाई छ । गत वर्ष सङ्घीय सरकारबाट ६५ करोड विनियोजन भए पनि निकासा ४१ करोड बजेट भएको थियो । जसमा पुजिँगत तर्फ १ करोड ११ लाख बजेट रहेको थियो ।