कालीकोटमा विद्यालय सञ्चालन गर्ने निर्णय

३ भदौ, कालीकोट । कोभिड-१९ महमारीका बीच कालीकोटका सामुदायिक विद्यालय आजदेखि सञ्चालनमा आउने भएका छन् । नरहरिनाथ गाउँपालिकाले आजदेखि सामुदायिक विद्यालय, बालविकास केन्द्र र सामुदायिक शिक्षा केन्द्र सञ्चालनमा ल्याउने भएको हो ।

जिल्लास्तरीय कोभिड-१९ व्यवस्थापन समिति र जिल्ला स्वास्थ्य कार्यालयको निर्णयअनुसार विद्यालय सञ्चालन गर्न थालिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख रत्नसिंह साउदले बताए ।

“विद्यालय सञ्चालन गर्न शिक्षकलाई कोभिड-१९ परीक्षण अनिवार्य गरिएको छ, कोभिड-१९ विरुद्धको खोप लगाएर विद्यालय सञ्चालन गर्न लागिएको हो”, उनले भने, “जिल्ला कोभिड-१९ व्यवस्थापन समितिले कोभिडको जोखिम कम रहेका स्थानीय तहमा विद्यालय सञ्चालनका लागि निर्देशन दिएअनुसार विद्यालय सञ्चालन गर्न लागिएको हो ।”

विद्यालय सञ्चालन गर्ने परिपत्र गाउँपालिकाको शिक्षा शाखाले गरिसकेको र स्वास्थ्य सुरक्षाका उपाय अपनाउँदै समयमै विद्यालय सञ्चालन गरिने जनप्रभात माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक मीनबहादुर रावलले बताए । “विद्यालय पोसाकमा विद्यालय आउनका लागि शिक्षक तथा विद्यार्थीलाई अनिवार्य मास्क प्रयोग गरिनेछ”, उनले भने, “विद्यार्थीलाई ज्वरो आयो वा कोभिड-१९ का लक्षण देखिएमा स्वास्थ्य कार्यालयले स्वास्थ्य जाँच गर्ने व्यवस्था मिलाएको छ ।”

गाउँपालिकाले सबै विद्यालय सञ्चालन गर्नाका साथै कक्षा १ देखि १२ सम्म अध्यापनको थालनी गरेको शिक्षा शाखाले जनाएको छ । त्यस्तै जिल्लाको पचालझरना गाउँपालिकाले जोरबिजोर कक्षा सञ्चालन गरेर विद्यालय सञ्चालनमा ल्याएको छ ।

गाउँपालिकाका सबै विद्यालयमा जोर बारमा जोर कक्षा र बिजोर बारमा बिजोर कक्षाका विद्यार्थीलाई पढाउने गरेर विद्यालय सञ्चालनमा ल्याएको हो ।

लामो समयदेखि विद्यालय सञ्चालन नहुँदा विद्यार्थीको पढाइमा असर परेका कारणले विद्यालय जोरबिजोरका आधारमा सञ्चालनमा ल्याइएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख मानबहादुर शाहीले जानकारी दिए । “विद्यार्थीको पढाइमा बाधा पुगेकाले कक्षा सञ्चालनमा ल्याएका छौँ”, उनले भने, “स्वास्थ्य मापदण्ड अपनाएर विद्यालयमा नियमित अध्यापनको व्यवस्था गरेका हौँ ।” रासस

Translate »