धानमा खैरो थोप्ले रोग देखिएपछि सल्यानका किसान चिन्तित

दीपक शर्मा /  भदौ ४,सल्यान । धानमा खैरो थोप्ले रोग देखिएपछि सल्यानका किसान चिन्तित भएका छन् ।

जिल्लाको शारदा नगरपालिका –९ मा ढुसीबाट उत्पन्न हुने खैरो थोप्ले रोगको प्रकोप देखिएपछि किसान चिन्तित भएका हुन ।

१ सय ५० रोपनीमा लगाएको धानमा समस्या आएको किसान धन बहादुर कुँवरले जानकारी दिए । ४० घरधुरीले लगाएको करिब ३ सय ५० रोपनी मध्ये १ सय ५० रोपनीभन्दा बढी धानमा रोग देखिएको उनको भनाई छ । आफूले लगाएको सबै धान बालीमा रोग देखिएको उनको भनाई छ ।

किसानले धानमा समस्या आएको जानकारी गराएपछि प्राविधिक सहितको टोलीले अनुगमन गरेको कृषि विकास कार्यालय सल्यानले जनाएको छ ।
धानको रोग सम्बन्धी गुनासो लिएर किसान कार्यालयमै आएपछि रोगको पहिचान गरिएको ब्लक विकास अधिकृत सन्दीप कुमार अधिकारीले बताए। राधा –४, खुमल –४ मन्सुली जस्ता जातको खेती गरिने र धेरै वर्ष देखि बिउ परिवर्तन नगर्दा उक्त रोगको समस्या देखिएको हुनसक्ने प्राविधिक सौभाग्य जङ्ग बस्नेतले बताए ।

सन्तुलित मात्रामा मल खादको प्रयोग नगर्नु, वर्षे मकैबाट ढुसीका कणहरू हावाको माध्यमबाट धानमा प्रसारण भएको, ढुसी फैलनका लागि उपयुक्त वातावरण भएका कारण पनि खैरो थोप्ले रोग देखापरेको उनको भनाई छ ।

रोगले धेरै मात्रामा क्षति गरी सकेकाले आकस्मिक बाली संरक्षण कार्यक्रम अन्तरगत ४० घरधुरीलाई ढुसीनासक विषादी सहयोग गरेको कार्यालय प्रमुख महेश आचार्यले बताए । स्थलगत रुपमा विषादी प्रयोग सम्बन्धी तालिमका साथै ढुसीनासक विषादी सहयोग गरेको उनको भनाई छ ।

Translate »