लुम्बिनी प्रदेश मुख्यमन्त्री केसीले विश्वासको मत लिने प्रकिया सुरु

रूपन्देही — लुम्बिनी प्रदेशसभामा मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत लिने प्रक्रिया सुरू भएको छ । प्रदेश सभाको पहिलो बैठक विपक्षीको नाराबाजीबीच केहीबेर चलेर स्थगित भएको थियो ।

साढे २ बजे सुरू भएको दोस्रो बैठक ९ मिनेट मात्र चलेर स्थगित भएको थियो । तर सभामुख पूर्णबहादुर घर्तीले स्थगितपछि बसेको बैठक पहिलो बैठककै कार्यसूची अनुसार सञ्चालन गरेका छन् । विपक्षी एमालेले त्यो बैठक पनि बहिस्कार गरेको छ ।

सवा ४ बजे सुरू भएको नवौं अधिवेशनको चौथो बैठकमा सभामुख घर्तीले संविधानको धारा १८८ को उपधारा १ र प्रदेशसभा नियमावली २०७४ को नियम१४३ को उपनियम ४ बमोजिम केसीले मुख्यमन्त्रीमा विश्वासको मत लिने प्रक्रियाअघि बढाएका हुन । केसीले विश्वासको मत लिने प्रस्ताव बैठकमा पेस गरेका छन् ।

प्रमुख प्रतिपक्ष दलले चौथो बैठक पनि बहिस्कार गरेको छ । प्रमुख प्रतिपक्ष दलका संसदीय दलका उपनेता बैजनाथ चौधरीले प्रदेशसभा सचिवालयले विपक्षी दलको माग सुनुवाई नभएकाले बैठकमा उपस्थित नहुने बताए ।

मुख्यमन्त्री केसीले विश्वासको मत लिने बैठकमा राष्ट्रिय जनमोर्चाकी प्रदेशसभा सदस्य तारा जिसी मात्र प्रतिपक्षको कुर्चीमा थिइन् । तर, जनमोर्चाले मुख्यमन्त्रीमा केसीलाई समर्थन गरेको छ । जनमोर्चा सरकारमा नजाने भएकाले प्रतिपक्षमै बसेको माओवादी केन्द्रका नेता सुदर्शन बरालले बताए ।

लुम्बिनी प्रदेशसभामा अहिले ८० सदस्य छन् । मुख्यमन्त्री केसीले आफूमाथि प्रदेशसभाको आफूमाथि विश्वास छ भन्ने पुष्टि गर्न ४१सांसदको समर्थन जुटाउनुपर्छ । सत्ता पक्षमा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १८ (सभामुख बाहेक),जनता समाजवादी पार्टीका ३, राष्ट्रिय जनमोर्चाका १ र स्वतन्त्र सांसद अजय शाहीसहित ४२ सांसद छन् । विपक्षी एमालेका ३७ सदस्य छन् ।

माओवादी केन्द्र संसदीय दलका नेता केसी लुम्बिनी प्रदेशसभाका चार दल र एक स्वतन्त्र गरी ४२ जना प्रदेशसभा सदस्यको समर्थनमा साउन २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए । (कान्तिपुर)

Translate »