विज्ञापन कर नबुझाउने २६ कम्पनीविरुद्ध मुद्दा
सुर्खेत । वीरेन्द्रनगर नगरपालिका क्षेत्रभित्र विज्ञापन कर सङ्कलनको जिम्मेवारी पाएको एक कम्पनीले कर नतिर्ने २६ कम्पनीविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । सहारा निर्माण सेवा, वीरेन्द्रनगर–७ ले मुलुकी देवानी संहिता २०७४ को दफा ६६९ बमोजिम विज्ञापन राख्ने व्यवसायीबाट तिर्न बुझाउन बाँकी करको दायित्व वहन गराउन माग गर्दै फिराद पत्र दायर गरेको हो ।
फिराद पत्रमा विपक्षीबाट रु ३३ लाख ३० हजार ८२० असुल गराउन माग गरिएको छ । नगरपालिका र सहारा निर्माण सेवाबीच विसं २०७७ असोज ४ गते विज्ञापन कर सङ्कलन गर्ने सम्झौता भएको थियो । सहारा निर्माण सेवाका सञ्चालक दशरथ चन्दले बारम्बार ताकेता गर्दासमेत कर नबुझाएपछि अदालतमा मुद्दा दायर गर्नुपरेको बताए । उनका अनुसार होर्डिङ बोर्ड राखे वापत रु एक लाख ५० हजारमात्र विज्ञापन कर सङ्कलन भएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ (घ) १ मा विज्ञापन प्रयोजनका लागि राखिएका होर्डिङ बोर्डबाट सम्बन्धित स्थानीय तहले कर उठाउन पाउने उल्लेख छ । सोही प्रावधानअनुसार वीरेन्द्रनगर नगरपालिकाले कर सङ्कलनको जिम्मेवारी उक्त कम्पनीलाई दिएको थियो । नगरपालिकाले पनि ती २६ कम्पनीलाई तत्काल कर दाखिला गर्न सार्वजनिक सूचना जारी गरेको थियो । फिराद पत्रमा मुलुकी देवानी संहिता २०७४ को दफा ४९४, ४९५, ६६९ बमोजिम विपक्षीबाट पाउनुपर्ने राजश्व रकम असुल गर्न नसकी क्षति हुन गएकाले सो रकम क्षतिपूर्ति भराइदिन माग गरिएको छ । अदालतले असोज ५ गते उपस्थित हुन विपक्षी कम्पनीलाई पत्र पठाएको छ ।