रुकुम पश्चिमका विद्यालय भदौ १५ गतेदेखि खुल्ने

रुकुम । कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेका रुकुम पश्चिमका विद्यालयहरू भाद्र १५ गतेदेखि खुल्ने भएका छन् ।

जिल्ला सदरमुकाम मुसिकोटमा पालिकास्तरीय प्रमुखहरू तथा सरोकारवाला निकायसँगको छलफल पछि विद्यालयहरू खोल्ने सहमति भएको हो । विद्यार्थीको पठनपाठन ठप्प भएको र शैक्षिक क्षेत्र खस्किन लागेको भन्दै विद्यालय खोल्ने निर्णय भएको हो ।

यसैबीच गत बुधबार मात्र आठबीसकोट नगरपालिका शिक्षा शाखाले राखेको प्रधानाध्यापकहरूको बैठकले पनि भौतिक रूपमै उपस्थित भएर पठनपाठन गर्ने निर्णय गरेको छ ।

अन्य क्षेत्र निर्वाध खुलेको तर, विद्यालय मात्र बन्द गर्दा विद्यार्थीको भविष्य अन्योल भएकाले छिट्टै विद्यालय सञ्चालन गर्नुपरेको आठबीसकोट नगरपालिकाका विद्यालय निरीक्षक ईन्द्रबहादुर विष्टले जानकारी दिए ।

त्यस्तै रुकुम पूर्वको सिस्ने गाउँपालिकाले पनि भाद्र १३ गतेदेखि भौतिक उपस्थितिमै पठनपाठन गर्ने निर्णय गरेको छ । (सत्यपाटी)

Translate »