अफगानिस्तान विमानस्थलमा बम विस्फोट : मृत्यु हुनेको संख्या ६० पुग्यो

१ सय ४० घाइते

काबुल/ वासिङ्टन । बिहीबार साँझ अफगानिस्तानको राजधानी काबुलमा रहेको हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलको गेटमा भएका आत्मघाती हमलामा कम्तीमा १३ अमेरिकी सैनिकसहित ६० भन्दा बढी मानिसहरूको मृत्यु भएको छ। घटनामा १ सय ४० भन्दा बढी मानिसहरू घाइते भएका छन् । विमानस्थल पुगेका विदेशी नागरिक र विशेष गरी अमेरिकी सैनिकलाई लक्षित गरी दुई वटा आत्मघाती बम विस्फोट गराइएको थियो ।

विस्फोटको जिम्मा मुस्लिम आतङ्कवादी समूह इस्लामिक स्टेट खुरासानले लिएको छ। यो घटना अमेरिकाका लागि सन् २०११ पछि यत्ताकै खतरनाक हमला हो ।

आफ्ना १३ सैनिक मारिएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले उक्त विस्फोटले आफू विक्षिप्तसँगै आक्रोशित भएको बताएका छन् ।
विस्फोटपछि ह्वाइटहाउसबाट सम्बोधन गर्नुहुँदै राष्ट्रपति बाइडेनले अमेरिकीहरूको ज्यान लिनेलाई नछोड्ने बताए।
‘जसले यो विस्फोट गरे र अमेरिकालाई हानी पुर्‍याउन चाहने जोसुकैले पनि थाहा पाइराख्नू हामी माफ दिनेवाला छैनौँ न त बिर्सने छौँ,’ बाइडेनले भने ,‘हामी तिमीहरूलाई फेला पार्नेछौँ र यसको मूल्य चुकाउन लगाउने छौँ।’

यसअघि बिहीबार बिहानै अमेरिका, बेलायत, अस्ट्रेलियालगायत मुलुकले गुप्तचरको सूचनाका आधारमा काबुल विमानस्थलमा आतङ्कवादी हमला हुन सक्ने भन्दै सचेत रहन र त्यहाँ नजान आग्रह गरेका थिए।

अगस्ट १५ मा विद्रोही समूह तालिबानले काबुल कब्जा गरेपछि अमेरिकी र नाटो सैनिकले विदेशी र अफगान नागरिकको उद्धारका लागि काबुल विमानस्थल सञ्चालन गरिरहेका छन्। तालिबान काबुल पसेपछि बिहीबार पहिलो पटक काबुलमा यति ठूलो आक्रमण भएको हो।संसारभरका देशहरू यत्तिखेर अफगानस्थानबाट आफ्ना नागरिकहरूलाई सुरक्षितरुपमा फिर्ता गर्ने मिसशनमा कार्यरत छन् । यो घटनाले संसारभरीका देशमा हलचल मचाइदिएको छ । कयौदेशका नेताहरूले घटनाको कडा शब्दमा भर्त्सना गरेका छन् ।

Translate »