शनिवारदेखि मौसममा सुधार आउने

भदौ ११, काठमाडौं । विगत केही दिन अगाडिबाट सक्रिय रहेको मनसुन शनिवारदेखि केही कमजोर हुने भएको छ ।

न्यून चापीय रेखा शुक्रवार रातिदेखि केही तल सर्ने भएकाले मनसुनी गतिविधिको प्रभाव अलि कम हुने भएको हो । शनिवारदेखि नेपालको पूर्वी भागबाट मौसम क्रमिक सुधार हुँदै जाने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले बताए ।

देशभर सामान्यदेखि पूर्ण बदली तथा हल्कादेखि मध्यम र केही स्थानमा भारी वर्षाको सम्भावना कायमै रहनेछ । हाल बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू–भागमा सामान्य बदली रहेको छ । त्यस्तै प्रदेश नं १, बाग्मती, गण्डकी तथा कर्णाली प्रदेशका धेरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ ।

देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना साथै प्रदेश नं १, २, बाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका केही र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका एक/दुई स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार शुक्रवार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलव तीन डिग्री र अधिकतम तापक्रम २६ दशमलव ५ डिग्री सेल्सियस रहेको छ । रासस

Translate »