नलगाड र झुम्रे खोलाको बेलिब्रीज सञ्चालनमा

जाजरकोट । जाजरकोट—डोल्पा भेरी करिडोर मार्गको जाजरकोटको नलगाड र झुम्रे खोलामा बेलिब्रीज सञ्चालनमा आएको छ ।

सडक डिभिजन कार्यालय चौरजहारीले जाजरकोटको छेडागाढ खोलामा रहेको बेलिब्रिज निकालेर नलगाड खोला र झुम्रे खोलामा जोडिदिएपछि सवारी साधन निर्वाधरुपमा आवतजावत गर्न तथा दैनिक उपभोग्य बस्तुको ढुवानी गर्न धेरै राम्रो सहज भएको छ ।

नलगाड खोला र झुम्रे खोलामा बेलीब्रीज पुल निर्माण भएपछि जाजरकोटको कालीमाटी, दल्ली हुँदै तल्लुबगरसम्म सडक सञ्जालले जोडेको नलगाड– ७ का वडा अध्यक्ष अर्जुनबहादुर सिंहले बताए ।

पुल बनेपछि यात्रुवाहक सवारी साधन निर्बाध रुपमा आवतजावत गर्न तथा दैनिक उपभोग्य बस्तुको आपूर्तिमा सहज भएको उनको भनाइ छ ।

 

पुल बनेपछि दैनिक उपभोग्य सामग्रीको ढुवानीमा सहज भएको उद्योग वाणिज्य सङ्घ कालीमाटीका अध्यक्ष धनबहादुर रावलले बताए।

यसअघि सवारी तथा ढुवानीका साधन कालीमाटीसम्म पुग्ने गरेका थिए, उनले भने । ट्रक र ट्याक्टरले कालीमाटीसम्म पुर्‍याएको सामानलाई बारेकोट, कालीमाटी, दल्ली, कैना, तल्लुवगर, डोल्पा लगायत स्थानमा लैजान पिठ्युमा बोकेरै झोलुङ्गे पुलबाट तार्नुपर्ने बाध्यता रहेको थियो ।

पुल सञ्चालन आएपछि सदरमुकाम खलङ्गा, सुर्खेत, नेपालगंज तथा खलङ्गा कालीमाटी, बारेकोट तल्लुवगरलगायत स्थान सम्मको यात्रा पनि सहज भएको रावलले बताए।

पुल बनेपछि नलगाड नगरपालिका, बारेकोट गाउँपालिका र डोल्पाका बासिन्दालाई आवतजावत गर्न र उपभोग्य बस्तु ढुवानी गर्न सहज भएको छ ।

 

Translate »