अछाममा कोरोना सङ्क्रमितको सङ्ख्या शून्यमा झर्याे : जोखिम कायमै

टेकराज भण्डारी/ अछाम । अछाम जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या शून्यमा झरेको छ । परीक्षणको दायरा घटेको र संक्रमित सबै जना निको भई घर फर्केपछि हाललाई कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या शून्यमा झरेको जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुङ्गानाले बताए।
पछिल्लो २४ घण्टामा थप २ जना निको भएसँगै अछामका १० आटै स्थानीय तहहरू कोरोना संक्रमण मुक्त भएका हुन् । जिल्लामा पहिलो र दोस्रो लहरमा गरी ४ हजार ४ सय ६ जनामा कोरोना संक्रमण भएकोमा ४ हजार ३ सय ८१ जना निको भएर घर फर्किएपछि जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या शून्यमा झरेको हो ।
जिल्लाको कमलबजार नगरपालिकामा ५ सय ३९ जना, चौरपाटी गाउँपालिकामा १ सय ८१ जना, ढकारी गाउँपालिकामा १ सय ३ जना, तुर्माखाँद गाउँपालिकामा २ सय ८५ जना, पञ्चदेवल विनायक नगरपालिकामा ४ सय ५९ जना कोभिड–१९ संक्रमित बनेका थिए ।
यसै गरी बान्नीगढी जयगढ गाउँपालिकामा ३ सय ८३ जना, मङ्गलसेन नगरपालिकामा १ हजार १४ जना, मेल्लेख गाउँपालिकामा ३ सय ५ जना, रामारोशन गाउँपालिकामा ४ सय २२ जना र साँफेबगर नगरपालिकामा ७ सय १५ जना गरी जम्मा ४ हजार ४ सय ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो । जस मध्य सबै कोरोना संक्रमित निको भएका स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लामा कोरोना सङ्क्रमणका कारण पहिलो लहरमा ५ जना र दोस्रो लहरमा २० जना गरी २५ जनाको मृत्यु भएको छ । जस अन्तर्गत कमलबजार नगरपालिकामा ३ जना, चौरपाटी गाउँपालिकामा ४ जना, तुर्माखाँद गाउँपालिकामा १ जना, पञ्चदेवल विनायक नगरपालिकामा १ जना, बान्नीगढी जयगढ गाउँपालिकामा ४ जना, यस्तै मङ्गलसेन नगरपालिकामा ३ जना, मेल्लेख गाउँपालिकामा ४ जना, रामारोशन गाउँपालिकामा १ जना र साँफेबगर नगरपालिकामा ५ जना गरी जम्मा २५ जनाको कोरोनाका कारण ज्यान गइसकेको छ । अछाममा पहिलो र दोस्रो लहरमा गरी १७ हजार २० जनाको पिसिआर परिक्षण भएको छ ।
जिल्लामा हालसम्म २ हजार ५ सय ६० जनाको एण्टिजेन परिक्षण भएको स्वास्थ्य कार्यालय अछामका कोभिड फोकल मेडिकल ल्याब अधिकृत मीन बहादुर कुवँरले बताए । हाल सङ्क्रमितको सङ्ख्या शून्यमा झरेपनि सङ्क्रमणको जोखिम कायमै रहेकाले सतर्क रहन सरोकारवालाले सचेत पारेका छन् । अछाम नेपालकै उच्च जोखिम रहेका १७ जिल्लामध्ये एक जिल्ला रहेको स्वास्थ्य मन्त्रालयको अध्ययनले देखाएकोले सतर्क रहन आग्रह गरिएको अछामका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला कोभिड सञ्चालन समिति संयोजक रुद्र बहादुर मल्लले बताए । स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाउन उनको आग्रह छ ।
तेस्रो चरणको कोभिड– १९ को लहर फैलिने सम्भावनालाई मध्यनजर गर्दै तपाईँको मास्क खै ? लगायतका अभियान सञ्चालनमा रहेको प्रजिअ मल्लको भनाइ छ । हाल परिक्षण न्यून रहेकोले परीक्षणको दायरा बढाउँदै सबैले सतर्क रहनुपर्नेमा उनको जोड छ ।