सरकार र निजी क्षेत्रको सहकार्यमा अर्थतन्त्र चलायमान बनाउनुपर्छ : प्रम देउवा

मेला पाँच दिनसम्म चल्ने

भदौ १६, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार र निजी क्षेत्रको सहकार्यबाट देशको अर्थतन्त्रलाई पुनः चलायमान बनाउनुपर्ने बताउनुभएको छ ।

महिला उद्यमी महासंघको पाँचौं अन्तरराष्ट्रिय महिला उद्यमीको व्यापार मेलाको बुधवार भर्चुअल सम्बोधन गर्दै उहाँले कोरोनाका कारण थला परेको अर्थतन्त्रलाई पुनः चलायमान बनाउन सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको बताउनुभयो ।

‘सबै नागरिकलाई चाँडै कोरोना खोप उपलब्ध गराएर मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन सरकार प्रयत्नशील रहेको छ’, प्रधानमन्त्री देउवाले भन्नुभयो । उहाँले नेपाली उत्पादनलाई प्रोत्साहन र बजारीकरण गर्न महिला उद्यमी महासंघले खेलेको भूमिकाको उच्च प्रशंसा गर्नुभयो । यस्ता मेलाले मुलुकको अर्थतन्त्रलाई थप सबल बनाउन सहयोग पुग्ने उहाँको भनाइ थियो ।

नेपाली काँग्रेसका सभापतिसमेत रहनुभएका उहाँले कोरोनाका कारण नेपालमा उत्पादन भएका सामान बजारसम्म पुग्न नसकेको वर्तमान परिवेशमा सरकारले बजारीकरणलाई विशेष प्राथमिकता दिने उल्लेख गर्नुभयो । उहाँले भेलाको पूर्ण सफलताको कामनासमेत गर्नुभयो ।

महासंघकी अध्यक्ष रीता सिंहले महिला उद्यमीलाई प्रोत्साहन गर्दै महिलालाई आत्मनिर्भरताको बाटामा लैजानका लागि मेलाको आयोजना गरिएको जानकारी दिइन् ।  महासंघका प्रथम उपाध्यक्ष एवं मेलाका संयोजक नीरु रायमाझी खत्री, द्धितीय उपाध्यक्ष शोभा ज्ञवालीलगायतले नेपालमा उत्पादित कृषि सामग्री र हस्तकलाका सामग्रीलाई अर्थतन्त्रसँग जोड्न उक्त मेलाको आयोजना गरिएको बताए।

भर्चुअल कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, विभिन्न देशका राजदूत तथा महिला उद्यमीको सहभागीता रहेको थियो । मेला पाँच दिनसम्म चल्ने महासंघले बताएको छ ।  रासस

Translate »