२०८३ असोज १३ , मंगलबार
Sky News Nepal
September 29, 2026

बढ्यो विकास बैंकको व्यवसाय



काठमाडौं : चालू आर्थिक वर्षको पहिलो महिनामा विकास बैंकहरूले निक्षेप संकलन र कर्जा प्रवाह झन्डै समानान्तर रूपमा गरेका छन् । एकै महिनाको अन्तरमा सञ्चालनमा रहेका १८ विकास बैंकमध्ये १५ वटाको निक्षेप वृद्धिदर १.५० प्रतिशत हुँदा कर्जा लगानी वृद्धिदर १.५५ प्रतिशत भएको छ ।

डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आवको साउनमा ६ अर्ब ६० करोड ५७ लाख रुपैयाँ बराबरको निक्षेप संकलन गरी ५ अर्ब ८९ करोड ९९ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

विकास बैंकहरूले हालसम्म ४ खर्ब ४८ अर्ब ३८ करोड १९ लाख रुपैयाँ निक्षेप संकलन गरी साउनसम्ममा ३ खर्ब ८६ करोड ७४ लाख २२ लाख रुपैयाँ लगानी गरेका छन् ।  कर्पोरेट डेभलपमेन्ट, सहारा विकास र शाल्पा विकास बैंकको तथ्यांक समेटिएको छैन ।

संघका अनुसार चालू आवको पहिलो महिना प्रवेश गरेसँगै गरिमा विकास बैंक र ज्योति विकास बैंकको चालू निक्षेप संकलन वृद्धिदरमा संकुचन देखिएको छ । गरिमा विकास बैंकको निक्षेप संकलन गत असारको तुलनामा साउनमा ९० करोड ९६ लाख रुपैयाँले अर्थात् १.३७ प्रतिशतले घटेर ६५ अर्ब २८ करोड ९४ लाख रुपैयाँमा सीमित भएको छ। यसबीच सो बैंकको कर्जा प्रवाह ३८ करोड ५१ लाख रुपैयाँले अर्थात् ०.७१  प्रतिशतले थप वृद्धि भएर ५४ अर्ब ७० करोड ४२ लाख रुपैयाँमा सीमित भएको छ।

ज्योति विकास बैंकको निक्षेप र कर्जा प्रवाह दुवैको वृद्धिदरमा संकुचन देखिएको छ ।  बैंकको निक्षेप संकलन १ अर्ब ९९ करोड ६५ लाख रुपैयाँले संकुचन आउँदा साउनसम्म ५० अर्ब १४ करोड २३ लाख रुपैयाँमा सीमित भएको छ। यस्तै कर्जा प्रवाह पनि १ अर्ब २१ करोड ४० लाख रुपैयाँले संकुचन आउँदा ४४ अर्ब ८६ करोड ७६ लाख रुपैयाँमा सीमित भएको छ ।
चालू आवको सुरुआती महिनामै तुलनात्मक रूपमा राष्ट्रिय स्तरको मुक्तिनाथ बैंकले निक्षेप र कर्जा प्रवाह दुवैको व्यवसाय वृद्धि गर्न सफल भएको छ। उक्त बैंकले निक्षेप संकलन ४.८४ प्रतिशत अर्थात् रु.४ अर्ब ४५ करोड रुपैयाँले बढाएर साउनसम्ममा ९६ अर्ब ३० करोड ४३ लाख रुपैयाँसम्म पुर्‍याएको छ। यसैगरी, ३.३२ प्रतिशत अर्थात् २ अर्ब ५४ करोड ९१ लाख रुपैयाँबरारको थप कर्जा प्रवाह गरेर ७९ अर्ब २२ करोड ६१ लाख रुपैयाँसम्म पुर्‍याएको छ ।

पछिल्लो समय कच्चा पदार्थ, पेट्रोलियम, फलामलगायतका वस्तुको आयात बढेकाले पनि कर्जाको माग बढी हुन थालेको डेभलपमेन्ट बैंकर्स संघ नेपालका अध्यक्ष प्रद्युम्न पोखरेल बताउँछन् । कोभिडको सुरुआती अवस्थामा समग्र व्यवसाय प्रभावित भए पनि अहिले पर्यटन क्षेत्र बाहेकका व्यवसाय फस्टाउँदा बैंकको कारोबारमा पनि निकै सुधार भएको उनको भनाइ छ । अब चाडपर्व नजिकिँदै गर्दा सामान खरिदका लागि व्यवसायीले कर्जा लिन थालेकोले समेत व्यवसाय थप बढ्न थालेको मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकारीसमेत रहेका अध्यक्ष पोखरेलको तर्क छ । ‘पछिल्लो समय व्यावसायिक कारोबार बढेको छ । उल्लेख्य आयात हुन थालेको छ। यसबारे नेपाल राष्ट्र बैंकको तथ्यांकले पनि पुष्टि गरेको छ । कर्जावृद्धि सँगै बजारबाट निक्षेप संकलन पनि राम्रै भएको छ,’ उनले अन्नपूर्णसँग भने, ‘अझै बैंकमा केन्द्रीय बैंकबाट पुनर्कर्जाबापतको रकम आएपछि लगानीमा थप सहज हुनेछ ।’

चालू आवको पहिलो महिनामा महालक्ष्मी विकास बैंक, सांग्रिला र साइन रेसुङ्गा  विकास बैंकले पनि व्यवसाय वृद्धिमा फड्को मारेका छन् । महालक्ष्मीले ८२ करोड २ लाख रुपैयाँ अर्थात् २.०७ प्रतिशतले थप निक्षेप संकलन गरेर साउनसम्ममा ४० अर्ब ४५ करोड ४६ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । ७९  करोड ६९ लाख रुपैयाँ अर्थात् २.२६ प्रतिशतले कर्जा वृद्धि गरेर ३६ अर्ब ६ करोड ९५ लाख रुपैयाँ पुर्‍याएको छ ।

एकै महिनाको अन्तरमा सांग्रिला विकास बैंकले थप १ अर्ब ८ करोड ५७ लाख रुपैयाँको निक्षेप बढाएको छ । १ अर्ब २९ करोड १ लाख रुपैयाँले थप कर्जा बढाएको छ । यस्तै, साइन रेसुङ्गाले निक्षेप थप १ अर्ब अर्ब ७४ लाख र कर्जा १ अर्ब ५० करोड ४२ लाख रुपैयाँले थप वृद्धि गरेको छ । लुम्बिनी विकास बैंकले निक्षेपमा २० करोड १० लाख रुपैयाँ र कर्जामा १५ करोड ९० लाख रुपैयाँ वृद्धि गरेको छ । यस्तै, कामना सेवा विकास बैंकले थप ३१ करोड ५१ लाख निक्षेप र ३० करोड कर्जा प्रवाह बढाउन सफल भएको छ । राष्ट्रिय स्तरका विकास बैंकबाहेक जिल्लास्तरका विकास बैंकहरूले पनि कारोबारमा थप वृद्धि गरेका छन् । (अन्नपूर्ण पोस्ट्)

प्रकाशित मिति : २०७८ भदौ १६ गते बुधबार
Translate »