२०८३ असोज १४ , बुधबार
Sky News Nepal
September 30, 2026

६ हजारबाट सुरू दालमोठको व्यापार यसरी बन्यो ब्रान्ड

अहिले १० करोड बढी लगानी, जापानमा निर्यात गर्ने तयारी


मोरङबाट ३४ वर्षअघि चितवन आउँदा राजेन्द्रप्रसाद रिजालसँग छ हजार रूपैयाँ थियो । कुनै उद्यम गर्ने सोच बनाएर पूर्वी चितवनको रत्ननगरस्थित ज्वाइँको घर आइपुगेका थिए उनी ।

त्यसअघि राजेन्द्र आफ्ना काका तेजकुमारले उर्लाबारीमा चलाएको दालमोठ उद्योगमा काम गर्थे । बजार प्रतिनिधिका रूपमा उनी चितवनतिर आइरहन्थे । २०४४ सालमा भने उनी आफैं केही गर्ने सोचेर आइपुगे ।

२०३७ सालदेखि काकाले दालमोठ व्यवसाय गर्नुभएको थियो। मैले त्यहीँ काम गर्दागर्दै सिकेँ । बिक्रीका लागि देशका विभिन्न ठाउँ पुग्थेँ,५६ वर्षीय राजेन्द्रले भने ।

उद्योगमा काम गर्दा कमाएको छ हजार रूपैयाँ थियो । ज्वाइँ विनोदकुमार शर्मासँग सल्लाह गरेर उनले चुलो, दाउरा, पोको पार्ने प्लास्टिक लगायत सामान किने । केही पैसा सापटी खोजेर दालमोठ बनाउन चाहिने कच्चा पदार्थ संकलन गरे ।

ज्वाइँकै घरमा काँचो इँटा जोडेर बनाएको चुलोमा कराइ बसालेर दालमोठ बनाउन थालेँ, राजेन्द्रले सम्झिए ।

दालमोठ प्लास्टिकमा पोको पारेर उनी बजार डुल्न थाले। कहिले पैदल त कहिले रिक्सा चढेर उनी चितवनका बजार धाउँथे ।

त्यो समयमा मान्छेहरू बजार गएर धेरै पैसा खर्च गर्थेनन्। दालमोठ किन्ने त कमै थिए। दिनदिनै धाउन थालेपछि पसलेहरूले भने मबाट किनेर बेच्न थाले, सुरूआती दिन सम्झिँदै उनले भने, अनि विस्तारै माग बढ्न थाल्यो ।

राजेन्द्रका अनुसार त्यति बेलासम्म चितवनमा व्यवसायिक रूपमा दालमोठ उत्पादन हुन्थेन। पूर्वी नेपालमा बनेको दालमोठ बजारमा फाट्टफुट्ट देखिन्थ्यो । राजेन्द्रले ताजा दालमोठ पसल-पसल पुर्‍याउन थालेपछि उपभोक्ताले मन पराउन थाले ।

उनका भाइ पुरुषोत्तम विराटनगरमा पढ्दै थिए । दाजुको व्यापारमा राम्रो सम्भावना देखिएपछि उनी पनि चितवन आइपुगे । अनि रिजाल दाजुभाइ दालमोठ बनाउँदै बिक्री गर्न खटे ।

सुरूसुरूमा त आफैं निकै टाढा सामान बेच्न जान्थ्यौं । खाना खाने पैसा हुन्थेन । फर्केर कोठामै आएर खान्थ्यौं,” उनले भने।

उनीहरूले आफ्नो दालमोठ चितवनका बजार हुँदै विमलनगर, डुम्रे, बुटवलतिर विस्तार गरे । केही वर्षपछि कान्छा भाइ अच्युत पनि मोरङबाट चितवन आए । तीन दाजुभाइ भएपछि व्यवसाय अघि बढाउन थप सहज भयो ।

ुव्यवसाय गर्दै जाँदा कहिले द्वन्द्वकाल आयो, कहिले नाकाबन्दी त कहिले भुँइचालोको असर भोगियो। पेट्रोलियम पदार्थको अभावको सास्ती पनि कम थिएन, राजेन्द्र सम्झिन्छन्, तै पनि हामीसँग जोस थियो । हरेश खाएनौं ।

दालमोठको व्यापार सुरू गरेको करिब आठ वर्षपछि रिजाल दाजुभाइले रत्ननगरमा डेढ कठ्ठा जमिन किने । त्यसमै संरचना तयार पारेर दालमोठ व्यवसायलाई व्यवस्थित बनाए । आफ्नो उत्पादनको प्याकेटमा रिजाल ब्रान्ड लेखाए ।

यो झन्डै दुई दशकअघिको कुरा हो । त्यो बेला प्याकेटमा प्रिन्ट गर्न सहज कहाँ थियो र ? तै पनि विराटनगरमा फ्लेक्स प्रिन्ट गरेर प्लास्टिकमा टाँस्न थाले । त्यसपछि उनीहरू ब्रान्डको बजार विस्तारमा लागे ।

आफ्नै जमिनमा सुरू भएको व्यवसाय सफल हुँदै गयो । यसबाटै भएको आम्दानीले तीन भाइले घरबार बसाए । मोरङमा रहेका आमाबाबुलाई पनि चितवन ल्याए ।

२०७२ सालमा रिजाल दाजुभाइले रिजाल फुड एन्ड बेभरेज प्रालिु दर्ता गरेर ब्रान्डलाई थप व्यवस्थित बनाए ।

रिजाल ब्रान्डमार्फत सामान्य दालमोठबाहेक फुरनदाना, मुंगको दालमोठ, भुजिया, आलु चिप्स पनि बजार पुग्न थाल्यो । काँचो इँटा जोडेर बनाइएको चुलो डिजेलको भट्टी, भुसे चुलो हुँदै २०७४ सालसम्म आइपुग्दा अत्याधुनिक भट्टी भयो । उनीहरूले खियारहित स्वचालित मेसिनबाट उत्पादन गर्न थाले ।

उनीहरूले रत्ननगर-३ बेल्सीमा बाइस कठ्ठा जग्गा किनेर आधुनिक मेसिनसहितको उद्योग स्थापना गरेको चार वर्ष भइसक्यो । रिजाल फुड एन्ड बेभरेजका सञ्चालक राजेन्द्र अहिले उद्योगमा दस करोड रूपैयाँभन्दा बढी लगानी पुगेको बताउँछन् ।

ुयसमध्ये छ करोड रूपैयाँ यही व्यवसायको कमाइ हो । बाँकी लगानी बैंकको छ, उनले भने, छ हजार रूपैयाँबाट कराइमा दालमोठ बनाएर सुरू भएको पारिवारिक व्यवसायले गति लिँदैछ ।

अहिले उनका बुबा अञ्जनीप्रसाद उद्योगका अध्यक्ष छन् । छोराहरु राजेन्द्र, पुरुषोतम र अच्युत सञ्चालक ।

पुरुषोत्तमका अनुसार रिजाल फुडले वार्षिक २५ करोड बढीको कारोबार गर्छ । सरकारलाई बर्सेनि पौने दुई करोड रूपैयाँ राजश्व बुझाउँछ।

‘महिनामा पचास किलो दालमोठ बेचेर सुरू गरेका थियौं । अहिले डेढ लाख किलोभन्दा बढी बिक्री हुन्छ, उनले भने, बजारको माग दिनप्रतिदिन बढ्दैछ ।’

रिजाल फुडको उत्पादन नमकिनु को माग बजारमा ठूलो छ । केही वर्षयता रिजाल नमकिनको उपस्थिति बजारमा करिब १५ प्रतिशत देखिएको उनले बताए ।

उत्पादनमा आवश्यक धेरै कच्चा पदार्थका लागि भने भारतको भर पर्नुपर्ने अवस्था रहेको उनी बताउँछन् । फुरनदाना बनाउन चिउराबाहेक मसलाजन्य कच्चा पदार्थदेखि प्याकेजिङको प्लास्टिकमा पनि भारतकै भर पर्नुपर्छ। यी सामन सकेसम्म देशभित्रै किन्ने गरे पनि पर्याप्त नपाइने भएकाले भारतीय उत्पादन आयातकर्ताको भर पर्नुपरेको पुरुषोत्तमले बताए।

‘व्यवसाय सुरू गर्दाका दिनमा दालमोठ किनेर खाने चलन खासै थिएन। कोही(कोहीले सौखका रूपमा किनेर खान्थे । अचेल घरघरमा खाजाका रूपमा दालमोठ, फुरनदाना चल्छ। होटल, रेस्टुरेन्टमा पनि उस्तै माग छ, पुरुषोत्तमले भने,  ‘मागअनुसार नयाँ उत्पादन थप्दै लगेका छौं । सबै कच्चा पदार्थ नेपालमै पाइने भए विदेश जाने पैसा जोगिन्थ्यो ।’

रिजाल ब्रान्डका उत्पादन अहिले देशभर बिक्री हुन थालेको पनि उनले बताए । विभिन्न सहर, जिल्लामा थोरै परिमाण र क्षेत्रलाई लक्षित गरेर यस्ता खानेकुरा उत्पादन गरिए पनि देशव्यापी बजारमा आफूहरूको नेपाली प्रतिस्पर्धी नभएको उनको भनाइ छ ।

हाम्रा प्रतिस्पर्धी भनेको केही विदेशी ब्रान्ड हुन् । हामीले उनीहरूको भन्दा स्तरीय उत्पादन बजारमा पुर्‍याएर प्रतिस्पर्धा गरिरहेका छौं, उनले भने ।

रिजालको उद्योगमा अहिले एक सय बढीले काम गर्छन् । काम गर्नेमा स्थानीय महिला ८० प्रतिशत छन् ।  काकाले गरेको काम सिकेर बाबुको पुस्ताले सुरू गरेको व्यवसायमा अहिले तेस्रो पुस्ता पनि सक्रिय हुन थालेको छ। एमबिए सकेका राजेन्द्रका छोरा स्वरूप र बिबिए सकेका पुरुषोत्तमका छोरा प्रितम यसको प्रबर्द्धनमा खटेका छन्।

‘बुबाहरूले गरेको काम देख्दै हुर्कियौं । यही काममा हाम्रो ज्ञान, सीप प्रयोग गर्न सक्दा अझ व्यवस्थित र स्तरीय हुन्छ भनेर लागेको छु, प्रितम भन्छन्, बुबाहरूले रिजाल ब्रान्डलाई देशभर फैलाउनुभयो । अब हामीले यसलाई विदेशमा पुर्‍याउनु छ ।

अनौपचारिक रूपमा धेरै देश पुगिसकेको रिजाल ब्रान्डका उत्पादनलाई आधिकारिक रूपमा पहिलो पटक जापान निर्यात गर्ने तयारी भइरहेको उनले बताए । निर्यातलाई समेत लक्षित गरेर उत्पादन गुणस्तर बढाउन उद्योग लागि परेको प्रितम बताउँछन् ।

आफ्ना उत्पादनको गुणस्तर जाँच उद्योगले आफ्नै प्रयोगशाला सञ्चालन गरेको छ । २०७२ सालमा स्वच्छ खाद्यान्न उत्पादकका रूपमा रिजाल फुड देशभरमा दोश्रो भएर पुरस्कृत भएको थियो । गुणस्तरका सबै मापदण्ड पूरा गरेर अन्तर्राष्ट्रिय प्रमाणपत्र लिनेगरी तयारी भइरहेको पनि प्रितमले जानकारी दिए ।

रिजाल फुड एन्ड बेभरेजले अब मिठाइ, जुस, बेकरी र डेरीजन्य उत्पादनमा पनि हात हाल्ने तयारी गरेको छ ।

सञ्चालक पुरुषोत्तमले भने, देशको अवस्था सुध्रिएर गयो भने हामी लगानीको क्षेत्र विस्तार गर्दै जान्छौं । योजनाहरू तयार छन्, लगानीको वातावरण भएपछि सुरू भइहाल्छ । (सेतो पाटी)

प्रकाशित मिति : २०७८ भदौ १६ गते बुधबार
Translate »