सीडिएमएबाट जीएसएममा जान चाहने ग्राहकलाई आकर्षक अफर

स्काई न्यूज / भदौं २३, सुर्खेत । नेपाल टेलिकमले १६ वर्ष अघि सञ्चालनमा ल्याएको कोड डिभिजन मल्टीपल एक्सेस (सीडिएमए) सेवालाई पूर्णरुपमा बन्द गर्ने तयारी गरेको छ । कम्पनीले यसै वर्ष भित्र सीडिएमएबाट ग्लोबल सिस्टम फर मोबाइल कम्युनिकेशन (जिएसएम) सेवामा जाने प्रयोगकर्ताका लागि विभिन्न अफर ल्याउँदै सीडिएमए सेवा नचलाउने घोषणा गरेको हो । पुरानो प्रविधिलाई अपग्रेड गर्दै टेलिकमले आफ्ना सबै ग्राहकलाई अब जिएसएम सेवा उपलब्ध गराउने रणनीतिका साथ अघि बढेको छ । नेपाल टेलिकमका अनुसार गत वर्ष नै पुराना सीडिएमए प्रविधिलाई प्रतिस्थापन गर्दै नयाँ प्रविधिमा आधारित सेवा दिने घोषणा गरेका थिए ।
तर, घोषणा भएको झन्डै डेढ वर्षपछि नेपालको टेलिकम सेवामा पुरानो इतिहास बोकेको सेवा बन्द हुने भएको हो । टेलिकम सुर्खेतका प्रवक्ता प्रेमकुमार गिरीले सीडिएमए सेवामा ग्राहकको क्रेजपनि नदेखिएको र भएका ग्राहकपनि जिएसएम तर्फ जान खोजेकोले सीडिएमए सेवा बन्द गर्न लागिएको जानकारी दिए । ‘इतिहास बोकेको प्रविधि सकेसम्म सञ्चालनमै राखौं भन्ने बिषयपनि उठेको थियो,’ उनले भने तर, आम्दानीमा पनि त्यस्तो अन्तर नदेखिएको र भबिष्यमा शुन्य ग्राहक रहने अवस्था आउने भएपछि यो निर्णय गरिएको हो ।’ नेपाल दूरसञ्चारको तथ्याङ्क अनुसार सीडिएमए प्रयोगकर्ता एक वर्षमै १३ लाख घटेको छ । २०७७ बैशाखसम्म १६ लाख बढी ग्राहक रहेकोमा गत २०७८ बैशाखमा आउँँदा सो सङ्ख्या तीन लाख १९ हजारमा आइपुगेको छ ।
गिरीका अनुसार सीडिएमए मोबाइल सेवाको लागी दूरसञ्चार प्राधिकरणबाट ८५० मेगाहर्ज ब्याण्डको १० मेगाहर्ज फ्रिक्वेन्सी प्रयोग हुँदै आएको छ । जसमध्ये सेवा प्रयोगकर्ता घटदै गएपछि १० मध्ये ४ मेगाहर्ज फ्रिक्वेन्सी दूरसञ्चार प्राधिकरणलाई फिता गरिसकेको र सेवा बन्द भएपछि बाँकी फ्रिक्वेन्सी पनि फिर्ता गर्ने प्रवक्ता गिरीको भनाई छ । हाल सीडिएमए सेवा प्रतिस्थापन गरि जीएसएम सेवामा जाने ग्राहकलाई टेलिकमले आकर्षक अफर समेत सार्वजनिक गरेको छ । अहिले नेपाल टेलिकमका सीडिएमए प्रयोगकर्ता ३ लाख १९ हजार रहेको छ । जबकी हाल जीएसएम प्रयोगकर्ता १ करोड ९६ लाख ५६ हजार रहेको छ ।

सीडिएमएबाट जीएसएम सेवामा जाने ग्राहकलाई यस्ता अफर
टेलिकमल सीडीएमए सेवा बन्द गर्ने भन्दै ग्राहकहरुलाई स्काई सीडीएमए सेवाबाट छोडेर जीएसएममा जाँदा विभिन्न सुबिधा समेत दिने भएको छ । टेलिकमले स्काईफोन सेवा प्रयोग गरिरहेका ग्राहकहरुले नजिकैको दूरसञ्चार कार्यालयमा सम्पर्क गरी आफुले प्रयोग गरिरहेको सीडीएमएको सट्टामा निःशुल्क जीएसएम फोरजी सीमकार्ड दिने भएको छ ।
स्काईफोन प्रिप्रेड ग्राहकका लागि
हाल प्रयोग भइरहेका ९७४XXXXXXX रेञ्जको स्काईफोन प्रिप्रेड सिमकार्ड फिर्ता गरी ९७६XXXXXX नम्बरको जीएसएम फोरजी सीमकार्ड निःशुल्क लिन सकिने छ । अहिले प्रयोग गरिरहेको सीडीएमए नम्बरको पछिल्ला ७ वटा अंक नयाँ जीएसएम नम्बरमा आउनेछ । त्यस्तै जीएसएम फोरजी सिममा ६ महिनासम्म मासिक ३०० मिनेट कल, ३०० वटा एसएमएस, ४ जीबी डाटा निःशुल्क उपलब्ध हुने टेलिकमले जनाएको छ । निःशुल्क कल मिनेट र एसएमएस नेपाल टेलिकमको नेटवर्कभित्र प्रयोग गर्न सकिने छ । पुरानो सीडीएमए नम्बरमा भएको ब्यालेन्स र भ्यालिडिटी नयाँ नम्बरमा स्वत ट्रान्सफर हुनेछ ।
स्काईफोन पोष्टपेड ग्राहकका लागि
हाल प्रयोग भइरहेको ९७५xxxxxxx रेञ्जको स्काईफोन प्रिप्रेड सिमकार्ड फिर्ता गरी ९८५१३XXXXXX नम्बरको जीएसएम फोरजी सीमकार्ड निःशुल्क लिन सकिने छ । अहिले प्रयोग गरिरहेको सीडीएमए नम्बरको पछिल्ला ५ वटा अंक नयाँ जीएसएम नम्बरमा आउनेछ । यसरी लिइएको जीएसएम फोरजी सिममा ६ महिनासम्म मासिक ४०० मिनेट कल, २०० वटा एसएमएस, अन्य नेटवर्कमा मासिक ५० मिनेट कल तथा ६ जीबी डाटा निःशुल्क उपलब्ध हुनेछ ।