असोज १ देखि सहुलियत पसल

काठमाडौँ — सरकारले चाडबाडलाई लक्ष्य गरी असोज १ देखि सहुलियत पसल सञ्चालन गर्ने भएको छ । वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईको संयोजकत्वमा मंगलबार बसेको केन्द्रीय अनुगमन समिति बैठकले यस्तो निर्णय गरेको हो ।

‘वाणिज्य सचिवको संयोजकत्वमा गृह, कृषि, भूमि मन्त्रालय, वाणिज्य विभाग, गुणस्तर तथा नापतौल, खाद्य प्रविधि, खाद्य कम्पनी, साल्ट ट्रेडिङ, दुग्ध विकास संस्थानका अधिकारीहरू सहभागी बैठकले असोज १ देखि सहुलियत पसल सुरु गर्ने निर्णय गरेको छ,’ वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता शिवराज सेढाईंले भने, ‘संस्थानहरूले बजेटअनुसार खाद्यमा छुट दिने र अनुगमनकारी निकायले बजार अनुगमन प्रभावकारी बनााउने निर्णय भएको छ ।’

सहुलियत पसलबाट साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र दुग्ध विकास संस्थानले छुट दिनेछन् । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास, पेट्रोल, डिजेललगायतको आपूर्ति व्यवस्था चुस्त बनाउने जनाएको छ । वाणिज्य विभाग, गुणस्तर तथा नापतौल विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजार अनुगमन सघन रूपमा गर्ने निर्णय भएको हो ।

चाडपर्व लक्षित सरकारी निकायले विभिन्न आउटलेट राखेर छुट दिने जनाएको छ । सहुलियत पसलमा साल्ट ट्रेडिङले नुन, चिनी, गेडागुडीलगायत बिक्री गर्ने छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चामल, दाल, गेडागुडी र खसी, बोका उपलब्ध गराउनेछ । दुग्ध विकास संस्थान (डीडीसी) ले दुग्ध पदार्थ सहुलियत दरमा उपलब्ध गराउने जनाएको छ । सहुलियत पसल छठसम्म चल्नेछन् । (कान्तिपुर)

Translate »