महानायक राजेश हमाल दम्पती लिटमस केबलको ब्राण्ड एम्बेसडर नियुक्त

काठमाडौँ – लुम्बिनी विद्युत उद्योग प्रालिले नेपाली चलचित्र जगतका महानायक राजेश हमाल तथा मधु हमाल भट्टराईलाई ब्राण्ड एम्बेसडरको रुपमा नियुक्त गरेको छ ।
दुई वर्षको लागि नियुक्त भएसँगै कम्पनीले प्रवर्धन गर्ने विभिन्न समारोह, विज्ञापन, सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुमा महानायक राजेश एवं मधुको उपस्थिति हुनेछ ।
लुम्बिनी विद्युत उद्योग प्रालि सन् १९७७ मा स्थापित नेपालको पहिलो आल्मुनियम कनन्डक्टर स्टिल रिइनफोर्सड (एसीएसआर) कन्डक्टर निर्माण कम्पनी हो ।
कम्पनीले हालै नयाँ संरचनाको विकास गरी आफ्ना विभिन्न उत्पादनहरु बजारमा बिक्री वितरण गर्दै आइरहेको छ।
चार दशकदेखि विभिन्न प्रकारका तार र केबलहरू उत्पादन गर्र्दै आएको यस कम्पनीले हालै जर्मन प्रविधियुक्त नयाँ एड्भान्स मेसिनहरुबाट आफ्ना उत्पादन गर्दै आएको जनाएको छ ।

यससँगै कम्पनीले आफूलाई नेपालकै अग्रणी एवं ठूलो कम्पनी बन्न सफल भएको दावी गरेको छ ।
‘कम्पनीले निरन्तर गुणस्तरीय उत्पादनमा केन्द्रित भई गुणस्तरमा नम्बर १ रहनको लागि हालै एड्भान्स जर्मन प्रविधियुक्त मेसिनहरुको प्रयोगसमेत गर्दै आइरहेको र नेपालको सबैभन्दा ठूलो केबल निर्माता कम्पनी बन्न सफल भएका छौं’, कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक रोहित गुप्ताले भने ।
त्यस्तै महानायक हमालले ब्राण्ड एम्बेसडरमा नियुक्त गर्नुअगाडि कम्पनीका विभिन्न उत्पादन युनिटहरुको अवलोकन एवं जानकारी हासिल गरेको जानकारी दिए ।
‘वास्तवमै यस्तो एड्भान्स जर्मन प्रविधिको प्रयोग गरी यति ठूलो क्षेत्रफलमा विद्युत केबल उत्पादन गर्ने सम्भवतः यो नै पहिलो नेपाली कम्पनी हो भनेर हामी विश्वस्त भयौं’, उनले भने ।
कम्पनीका केबलहरुको प्रयोगले विद्युत बिललाई समेत घटाउने दावी कम्पनीले गर्दै आएको छ । (देश सञ्चार)