हुम्लामा मोबाइल चार्ज गरेकै एक सय रुपैयाँ शुल्क

सिमकोट । शीर्षक पढ्दै अचम्म लाग्नसक्छ तर हुम्लामा यो यथार्थ बनेको छ।

यहाँ विगत तीनदिनदेखि विद्युत अवरुद्ध हुँदा मोबाइल चार्ज गर्न सर्वसाधारण शुल्क तिर्न बाध्य भएका हुन्।

एकपटक मोबाइल चार्ज गरेकै एक सय रुपैयाँ तिर्नपरेपछि हुम्लाबासी समस्यामा परेका छन्। स्थानीय हिल्दुम साना जलविद्युत आयोजनाले मर्मत गर्ने भन्दै विद्युत आपूर्ति बन्द गर्दा यस्तो समस्या आइपरेको हो।

जसले गर्दा सर्वसाधारणलाई सोलारमार्फत एकसय रुपैयाँ तिरेर मोबाइल चार्ज गर्नुपर्ने बाध्यता आइलागेको हो। सोलार बत्ती जडान गरेकाले एउटा मोबाइल चार्ज गरेको एक सय रुपैयाँ लिने गरेका छन्।

स्थानीय परबहादुर थापाले एउटा मोबाइल चालीस प्रतिशत चार्ज गरेकै एक सय रुपैयाँ तिर्न परेको गुनासो गरे। उनले सोलारबाट काम गर्दै आएको एउटा विद्युतीय पसलमा मोबाइल चार्ज गर्न एक सय रुपैयाँ तिरेको बताए।

अर्का स्थानीय सुरेश कार्कीले चार्ज सकिएर अफ भएको मोबाइल खुलाउन एक सय रुपैयाँ तिरेर चार्ज गर्नुपरेको सुनाए।

यो समस्या थापा र कार्कीको मात्र नभई हुम्लाका अधिकांश मोबाइल प्रयोगकर्ताको रहेको छ। स्थानीयले अहिले अत्यावश्यक बन्दै आएको मोबाइल चार्ज गर्न विद्युतीय पसलेहरुले महंगो शुल्क लिएको भन्दै आपत्ति जनाएका छन्।

सोलारबाट सामान मर्मत गर्दै आएका यहाँका विद्युतीय व्यवसायीहरुले महँगो हवाई भाडा तिरेर सोलारका सामान ल्याउनु परेकाले चार्ज गर्दासमेत शुल्क लिनु परेको स्पष्टीकरण दिएका छन्। घाम पनि राम्रो नलाग्ने भएको कारण थोरै बचेको चार्जमा मोबाइल चार्ज गरी दिनुपर्दा एक सय रुपैयाँ लिने गर्दै आएको उनीहरुको भनाइ छ।

एक व्यवसायीले दैनिक ५० भन्दा बढी मोबाइल चार्ज गर्ने गरिएको बताएका छन्। (देश सञ्चार)

Translate »