कर्णालीमा विपमैत्री नीति छिट्टै बन्छ : कानूनमन्त्री मन्त्री नेपाली

स्काई न्यूज असोज ७, सुर्खेत । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री सीताकुमारी नेपालीले कर्णालीमा विपमैत्री नीति बनाउन लागिएको बताएकी छिन् । मन्त्री नेपालीले चालु आर्थिक वर्षदेखि नै प्रत्येक स्थानीय तहमा लागु हुने गरि विपद्मैत्री नीति बनाउन लागिएको जानकारी दिईन् । दिगो विकास लक्ष्य कार्यक्रमको सप्ताह अन्तर्गत विहीवार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित प्रदेशको विकास योजनामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी प्रादेशीक परामर्श कार्यक्रममा उनले दिगो विकास लक्ष्य अनुसारको कार्य गर्न विपमैत्री नीति बनाउन लागिएको बताएकी हुन् ।

प्रदेश योजना आयोग र आइओएमले संयुक्तरुपमा आयोजना गरेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी प्रादेशीय परामर्श कार्यक्रममा मन्त्री नेपालीले छिट्टै प्रदेशको विपत ब्यवस्थापन सम्बन्धी नीति बन्नेमा विश्वस्त रहन आग्रह गरिन् । ‘कर्णाली परिवेश अनुसार विपद्सँग जुध्न विपद् ब्यवस्थापनको पुर्व तयारीमा लागिनेछ,’ उनले भनिन्, ‘विपदलाई न्यूनिकरण गर्नको लागि पूर्व तयारी नै महत्वपुर्ण कार्य हो, त्यसै अनुसार पूर्व सूचना प्रणली ब्यवस्थित गरेर कामलाई प्रभावकारी बनाउँछौं ।’ उनले विपद् आउनुको कारण पहिचान गरेर प्रतिकार्यका लागि तयारीमा जुट्नुका साथै अबका दिनमा काम गर्दा भू–उपयोग नीतिसँग सम्बन्धित भएर गर्नुपर्ने औल्याईन् ।

‘गरिवीका कारण पनि विपद् ब्यवस्थापनमा समस्या आएको छ, खोला किनार तथा भिरालो जमिन नजिक वस्ती वस्ने गरेको देखिन्छ, अबका नीति तथा कार्यक्रममा त्यस्ता वस्ति विकास योजना बनाउँदा सुरक्षित स्थानमा स्थान्तरण गर्ने गरि कार्य योजना वनाईनु पर्छ,’ उनले भनिन्, ‘बजेट अभावमा योजना अपुरा भई अलपत्र हुने र पछि त्यही कारण बाढी पहिरो तथा भूःक्षय हुने हुँदा विपतको प्रमुख कारण अधुरा योजना पनि एक कारण हो । कर्णालीको भूगोल अनुसारको विकास हुदैन, अध्ययन विना अन्धाधन्दा विकास गर्ने प्रवृति छ, विकास गर्ने होडवाजीले गर्दा कर्णालीमा विपत जोखिम बढेको देखिन्छ ।’

 

कार्यक्रममा कर्णाली प्रदेशका योजना आयोगका उपाध्यक्ष डा. सर्बराज खड्काले विपद्को आँखाबाट विकास निमार्णलाई हेनुपर्ने बताए । ‘सम्भाब्यताको अध्ययन गरेर गरिने विकास दिगो हुन्छ, योजनावद्ध विकासले प्रदेशको विकास हुन्छ र यसले विपद जोखिम न्यूनिकरण हुन्छ,’ उनले भने, ‘सरकारको नेतृत्वमा सरोकारवाला सबैले विपद् जोखिम न्यूनिकरण गर्न लागे मात्रै दिगो विकास लक्ष्य हासिल गर्न सहज हुनेछ ।’ कार्यक्रममा सहभागी कर्णाली प्रदेश सरकारका विभिन्न विषयगत मन्त्रालयका योजना महाशाखा प्रमुखहरुले वातावरणीय प्रभावमुल्याङकन विनाको विकास विपद्को मुख्यकारण भएको बताएका छन ।

वातावरणीय प्रभावमुल्याङकन विना गरिएको विकास निमार्ण अहिलेको विपद्को प्रम्ख कारण भएको उद्योग ,पर्यटन, वन तथा वातावरण मन्त्रालयका शेरबहादुर श्रेष्ठले बताए । त्यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयका योजना महाशाखाका युवराज न्यौपानेले ग्रामिण बस्तीमा विकासको नाउमा सडक लगायतका कार्य गर्दा पहुँचका अधारमा निमार्ण कार्य शुरु हुने भएकोले त्यो ठाँउको लागि योजना उपयुक्त हो वा होइन भनेर त्यसको अध्ययन गर्न आवश्यक रहेको औल्याए । विना अध्ययन विनाको विकास निमार्ण कार्य विनासले ल्याउने सम्भावना बढी रहेको उनको भनाइ थियो । कर्णाली प्रदेश वहुप्रकोप घटना हुने प्रदेश भएकोले यहाँको भूगोलको भिरालो जमिन भएको कारण बढि प्राकृतिक जोखिम हुने गरेको कर्णाली प्रदेश योजना आयोगका सदस्य डा दीपेन्द्र रोकायाले बताए । कर्णालीको समस्या समधान गर्न सरोकारवाला सबैले विपद् पुर्व तयारी गर्नुपर्नेमा जोड दिए ।

Translate »