चाडपर्व लक्षित छुट अफर ल्याउँदै सुर्खेतका व्यापारी

स्काई न्यूज / असोज १३, सुर्खेत ।   सुर्खेतका उद्योगी तथा व्यापारीले चाडपर्व लक्षित छुट अफर ल्याउने भएका छन् । राष्ट्रिय उपभोक्ता मञ्च, जिल्ला प्रशासन कार्यालयको पहल तथा सुर्खेत उद्योग वाणिज्य संघको समन्वयमा उद्योगी तथा व्यापारीले दशैं, तिहार तथा छठ पर्वको अवसर पारेर चाडपर्व लक्षित छुट अफर ल्याउन लागेका हुन् । कोरोना महामारी तथा दैविक प्रकोपलगायतले आजित आम नागरिकलाई चाडपर्वमा केही राहत पुगोस् भन्ने उद्देश्यले सुर्खेत जिल्लाभरी लागु हुने गरि दैनिक उपभोग्य वस्तुसँगै लत्ताकपडा एवं रंगरोगनका वस्तुमा विशेष छुट अफर ल्याउन लागिएको छ । सुउवा संघका अध्यक्ष धनबहादुर रावतको अध्यक्षतामा बुधबार वीरेन्द्रनगरमा बसेको बैठकले सामाजिक उत्तरदायित्व अन्तर्गत दैनिक उपभोग्य वस्तुसँगै लत्ताकपडा एवं रंगरोगनका वस्तुमा विशेष छुट अफर ल्याउन संघ अन्तर्गतका वस्तुगत समितिका उद्योगी तथा व्यापारीसँग आग्रह गरिएको हो । बैठकमा संघका अध्यक्ष धनबहादुर रावतले नेपालीका महान चाडपर्वहरु दशै, तिहार, छठमा सरकारले सहुलियत मूल्य पसल सञ्चालन गरिरहेको परिप्रेक्षमा नीजि क्षेत्रबाट पनि आफ्नो सामाजिक उत्तरदायित्यलाई आत्मसात गर्दै छुट अफर ल्याउनका लागि उद्योगी, व्यापारी एवं वस्तुगत समितिका पदाधिकारीहरुसँग समन्वय तथा छलफल भईरहेको बताए । उनले दैनिक उपभोग्य सामाग्री, लत्ताकपडा तथा रंगरोगनका सामाग्रीलगायतमा के कति प्रतिशतसम्म छुट अफर ल्याउन सकिन्छ छलफल भईरहेको जनाए । उनका अनुसार लत्ताकपडा एवं रंगरोगनका सामाग्रीमा कम्तिमा १० प्रतिशत भन्दा माथि छुट दिने बारेमा छलफल भईरहेको छ ।

‘खासगरि निजी क्षेत्रलाई आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दे जे जति सकिन्छ न्यूनतम् मुनाफा लिएर चाडपर्व लक्षित छुट अफर ल्याउन जिल्लाभरीका उद्योगी, व्यापारी साथीहरुसँग आग्रह गरेको छु,’ उनले भने, ‘कोरोना महामारी तथा दैविक प्रकोप जस्ता समस्याले आजित आम नागरिकलाई चाडपर्वमा दुई/चार रुपैयाँ भएपपनि सहुलियत दिन सके त्यो पूण्य कार्य नै हुन्छ ।’ उनले विशेष छुट अफरबाट व्यवसायकै प्रवद्र्धन हुने भएकाले जिल्लाभरीका उद्योगी, व्यापारी साथीहरु उत्साहपूर्ण तरिकाले चाडपर्व लक्षित सहुलियत मूल्यमा वस्तु तथा सेवा विक्री गर्न तयार रहेको जिकिर गरे ।

बैठकमा संघ मातहतका वस्तुगत समितिहरु औषधि व्यवसायी, स्टेशनरी तथा पुस्तक विक्रेता, तरकारी तथा फलफुल व्यवसायीले भने कडा प्रतिस्पर्धासँगै केही कानूनी अड्चन रहेकाले छुट दिन नसकिने स्पष्ट पारेका छन् । दैनिक उपभोग्य वस्तुमा समेत केही न केही प्रतिसत छुट दिनका लागि व्यवसायीहरुसँग छलफल भईरहेको अध्यक्ष रावतले जनाए । संघका वाणिज्य उपाध्यक्ष दिपेन्द्र ढकालले हार्डवेयर, तथा रंगरोगनका वस्तुमा चाडपर्व लक्षित विशेष छुट दिन सकिने बताए । त्यस्तै संघका सचिव रामप्रसाद पाण्डेले पनि रेडिमेट कपडामा चाडपर्व लक्षित विशेष छुट अफर ल्याउन सकिने जनाए । यता जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रतिनिधि दुर्गा आचार्यले चाडपर्व लक्षित बजार अनुगमन कडाईका साथ गरिने भएकाले मूल्यसूचि, व्यवसायी दर्ता प्रमाणपत्रसहित म्याद नाघेका, सडेगलेका वस्तु नबेच्न आग्रह गरे । बैठकमा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि आचार्य, राष्ट्रिय उपभोक्ता मञ्चका कर्णाली प्रदेश संयोजक आकाशतारा बयक, नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बसेल, सुउवा संघका पदाधिकारीसँगै वस्तु समितिका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Translate »