सदरमुकाममै बसपार्क नहुँदा समस्या

असोज १४,रुकुम । रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा बढ्दो सवारी चापका कारण पैदल यात्री र आम सर्वसाधारणको आवतजावतमा समस्या भएको छ ।

सवारी साधनको व्यवस्थापनका लागि जिल्लामै बसपार्क नहुँदा सडक छेउको पार्किङले सर्वसाधारणलाई समस्या भएको हो ।

जिल्ला सदरमुकाम मुसिकोटमा बसपार्क नहुँदा वर्षेणी बढ्दै गएको सवारी चाप र अव्यवस्थित पार्किङका कारण सर्वसाधारणले सास्ती व्यहोर्नु परेको छ । सडक छेउमै सानादेखि ठुला सवारी साधन पार्किङ गरेर राख्दा काम विशेषले घरबाहिर हिँडेका पैदल यात्रीलाई ज्यान जोगाउनै समेत मुस्किल भएको छ ।

साँघुरो सडकमै गरिने पार्किङ र त्यसमै दिनहुँ सवारी साधनको ओहोरदोहोरले विद्यार्थी, साना बालबालिका, बृद्धबृद्धा र बिरामी बढी मारमा परेको स्थानीय रामबहादुर ओलीको बताए।


दाङ, सल्यान हुँदै रुकुम सम्मको सडक यातायात जोडिएको डेढ दशक बढी समय बितिसक्दा पनि जिल्लामा हालसम्म बसपार्क निर्माण हुन सकेको छैन ।

सल्ले स्थित भेरी भन्ने स्थानमा निर्माण गर्ने भनिएको बसपार्कको काम समेत अलपत्र अवस्थामा छ ।

मुसिकोट नगरपालिकाका उपप्रमुख प्रेमकुमारी केसीले जिल्लाको पार्किङ समस्यालाई अन्त्य गर्न छिट्टै बसपार्क निर्माणको कामलाई सुरु गरिने बताए ।

रुकुम पश्चिममा बसपार्क नहुँदा लामो समयदेखि बागबजार, पातुखोला, मठ र सल्ले लगायतको मुख्य सडक छेउ हाल सवारीसाधनको पार्किङ स्थल बन्दै आइरहेको छ ।

यसको व्यवस्थापनका लागि सदरमुकाम मुसिकोटमा सहरी विकास तथा भवन विभागले यसअघि नै ५२ करोड १२ लाख लागतमा व्यवस्थित मलसहितको बसपार्क निर्माण गर्ने गरी डीपीआर गरिसकेको छ । तर भौगोलिक समस्या लगायत विविध कारण देखाउँदै हालसम्म बसपार्क निर्माणको काम सुरु हुन सकेको छैन ।(रेडियो नेपाल)

Translate »